जन सरोकार

दशगजा मिचेर भारतले बनायो सडक, स्थानीयको बिरोध, प्रशासन मौन

भारतले सीमावर्ती क्षेत्रमा निर्माण गर्ने अवैध संरचनाका कारण डुबानमा पर्दैआएको बाँकेमा भारतले दशगजामा सडक बनाएपछि  डुबानको समस्या थपिएको छ ।

पछिल्लो समय भारतले बाँकेको जमुनाह नाकादेखि पूर्वतर्फ दशगजासँगै जोडेर भारतले सतहभन्दा अग्लो पक्की सडक निर्माण गरेको हो ।

सो सडक जमुनाहा नाकास्थित ६५१ नम्बरको जङ्गे पिलरबाट पूर्वतर्फ सुइया बघौडासम्म निर्माण गरिएको छ । निर्माणाधीन सडक जमिनको सतहबाट कतै २ दशमलव ५ मिटर उचाइमा छ भने कतै एकदेखि डेढ मिटरको उचाइमा छ । कतै दशगजामै र कतै दशगजानजिकै बनाइएको सो सडकको चौडाइ १५ देखि ३० मिटरसम्म छ ।

दशगजा वारिका नेपाली नागरिकले भारतले बनाएको अग्लो सडकबाट आफ्ना गाउँहरू डुबानमा पर्न थालेको गुनासो गर्दैआएका छन् । सो सडकका कारण बाँकेका धेरै सीमावर्ती क्षेत्रसँगै नेपालगन्ज उपमहानगरपालिको सीमा बस्ती जमुनाह समेत डुबानमा पर्न थालेको छ ।

नेपालगन्ज १५ जमुनहाका रमेश खटिकले दशगजामै सडक बनाउन थालेपछि आफूहरूले सो बारेमा स्थानीय प्रशासनलाई जानकारी गराएको भए पनि कुनै रोकटोकविना सडक निर्माण गरिएको बताउनुभयो । उहाँले सडकका कारण पानीको निकास रोकिएपछि यताको गाउँवस्ती डुबानमा पर्न थालेको गुनासो गर्नुभयो ।

सोही प्रकारको गुनासो जमुनाहाका अर्का स्थानीय दीपक रैदासको पनि छ । उहाँले भारतले दशगजामै सडक बनाएको र वृक्षारोपणका लागि खाल्डाहरू खनिएको बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले नरैनापुर गाउँपालिकाको सीमानजिकै बनाइएको सो अग्लो सडकका कारण पालिकाका धेरै गाउँ डुबानमा पर्ने र जलमग्न हुने गरेको बताउनुभयो ।

उहाँले पानीको निकास नदिएको र दशगजा छोएर बनाइएको सडकका कारण नरैनापुरवासीलाई सास्ती हुँदैआएको बताउनुभयो । यसैबीच सिमानाको पिलरनजिकै वृक्षारोपण गर्ने भनी भारतीय नागरिकद्वारा खाडलहरू खनिएपछि बाँके प्रशासनले विरोध गर्दा खाडलहरू पुरिएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भारतीय पक्षद्वारा वृक्षारोपणका लागि खाडल खनिएको पाइएपछि सुरक्षाकर्मीलाई आग्रह गर्दा खाडलहरू पुर्न लगाइएको बताउनुभयो । उहाँले त्यसपछि नयाँ ठाउँमा खाडल खन्ने र वृक्षारोपण गरेको नपाइएको बताउनुभयो ।

भारतले २०७० चैत ३० गते सर्भे गरेर बाँकेको पूर्वीसीमा सुइया बघौडाको दक्षिणबाट दशगजाको समानान्तर हुनेगरी सडक निर्माण थालेको थियो । जसका कारण नरैनापुरका सीमाबस्ती धेरै पटक डुबानमा परिसकेका छन् । सो सडक निर्माणले पानीको प्राकृतिक प्रवाह रोक्दा राप्तीसोनारीका बस्तीसमेत जलमग्न हुने गरेका छन् ।

पश्चिममा भारतको लक्ष्मणपुर बाँधदेखि नेपालको साइगाउँसम्म २१ किलोमिटर सडक निर्माण गरिएको छ । यसबाट डुडुवा गाउँपालिकासँगै नेपालगन्ज उपमहानगरपालिकाका सीमावर्ती बस्ती पनि डुबानको उच्च जोखिममा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.