विश्व समाचार

व्यापार युद्ध नगर्न वासिङ्टनलाई चीनको चेतावनी

चीनले जबर्जस्ती श्रम (फोर्स्ड लेबर) सम्बन्धी आरोपलाई आधार बनाएर अमेरिका सरकारले चीनसहित ६० मुलुकमाथि नयाँ भन्सार महसुल (ट्यारिफ) लागू गरेको निर्णयको कडा विरोध गरेको छ।

नयाँ कर दर लागू भएपछि बेइजिङले यस्तो कदमले व्यापारिक तनाव बढाउने चेतावनी दिँदै अमेरिका व्यापार युद्धको बाटोमा नलाग्न आग्रह गरेको छ।

अमेरिकाले शुक्रबारदेखि लागू गरेको नयाँ व्यवस्थाअनुसार सम्बन्धित मुलुकहरूमाथि १० प्रतिशतदेखि १२.५ प्रतिशतसम्म अतिरिक्त भन्सार महसुल लगाइएको छ। यसमध्ये चीनमाथि सबैभन्दा बढी १२.५ प्रतिशत महसुल लगाइएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले सबै प्रकारका एकपक्षीय भन्सार महसुलको विरोध गर्ने स्पष्ट पार्नुभयो।

उहाँले “भन्सार युद्ध वा व्यापार युद्ध कुनै पनि पक्षको हितमा हुँदैन” भन्दै अमेरिकालाई मतभेद समाधानका लागि संवाद र सहकार्यको मार्ग अपनाउन आग्रह गर्नुभयो।

ट्रम्प प्रशासनको नयाँ व्यापार नीति

यो नयाँ महसुल यस वर्षको सुरुआतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी विश्वव्यापी भन्सार महसुलको अवधि समाप्त भएपछि कार्यान्वयनमा आएको हो।

गत फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले लगाएका धेरै महसुललाई खारेज गरिदिएपछि प्रशासनले नयाँ कानुनी आधार प्रयोग गर्दै पुनः भन्सार महसुलको व्यवस्था लागू गरेको हो।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरका अनुसार अमेरिकाले जबर्जस्ती श्रमबाट उत्पादित वस्तुको आयातमा लामो समयदेखि कडाइका साथ प्रतिबन्ध लागू गर्दै आएको छ र अब व्यापारिक साझेदार मुलुकहरूले पनि त्यही नीति अवलम्बन गर्नुपर्ने समय आएको छ।

फेरि बढ्न सक्ने व्यापारिक तनाव

गत वर्ष अधिकांश समय व्यापार युद्धमा अल्झिएका चीन र अमेरिकाबीच गत अक्टोबरमा राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको भेटपछि व्यापारिक विवादमा केही सहजता आएको थियो।

यस वर्ष ट्रम्पको बेइजिङ भ्रमणपछि दुवै देशले भन्सार महसुल घटाउने दिशामा सहकार्य गर्ने सहमति जनाएको चीनले बताएको थियो। तर अमेरिकाले अहिले लागू गरेको नयाँ महसुलले दुई देशबीचको व्यापारिक तनाव पुनः चर्किने संकेत देखिएको विश्लेषण गरिएको छ।

चीनले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का सिद्धान्त र बहुपक्षीय व्यापार प्रणालीको सम्मान गर्न अमेरिकालाई आग्रह गर्दै व्यापारिक विवाद समाधानका लागि वार्ता र सहकार्य नै उपयुक्त विकल्प हुने दोहोर्‍याएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.