राजश्व तथा भन्सार गस्ती गुल्मका २० जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण
पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड–१९ सङ्क्रमण भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार गुल्मका १८ जनामा शुक्रबार र दुई जनामा तीन दिन अघि कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको होे ।
सो गुल्मका सशस्त्र प्रहरीले काँकडभिट्टा नाकामा भारतबाट आइपुगेका नेपालीलाई होल्डिङ सेन्टरमा सुरक्षा प्रदान गर्दै आएका छन् । तीन दिन अघि होल्डिङ सेन्टरमा खटिएको सशस्त्र प्रहरीको समूहको स्वाब सङ्कलन गरी परीक्षणका लागि धरान पठाइएकोमा १८ जनामा कोभिड–१९ पुष्टि भएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नविन बरालले बताउनुभयो ।
पूर्वी नाकामा सुरक्षाको काममा खटिएका सशस्त्र प्रहरीमा नै ठूलो संख्यामा कोरोना संक्रमण भएपछि समुदायमा कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका भएको नगरका सामाजिक बिकास समितिका संयोजक बरालले बताउनुभयो ।
झापामा शुक्रवार अन्य बिर्तामोड नगरपालिकामा एक जना पुरुष, बाह्रदशी र झापा गाउँपालिकामा समेत थप ३÷३ जना पुरुषमा कोरोना भाइरस रहेको पुष्टि भएको छ । यो सङ्ख्या समेत गरी झापामा जम्मा ३४५ जनामा कोरोना पुष्टि भएको छ ।
बरालले मेचीनगरबासीलाई थप सर्तक रहन आग्रह समेत गर्नुभएको छ । नियमित काम गरिरहेका सीमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टि भएपछि काकरभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन ।