संविधानको रक्षा, कार्यान्वयन र जनताको हितका लागि पार्टी निरन्तर क्रियाशील : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान दिवस, २०८३ का अवसरमा आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष समारोह आयोजना गरेको छ ।
समारोहलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा, कार्यान्वयन र जनताको हितका लागि पार्टी निरन्तर क्रियाशील रहने बताउनुभयो । उहाँले मुलुकको लोकतान्त्रिक व्यवस्था र संविधानलाई सुदृढ बनाउँदै जनताका पक्षमा काम गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले संविधान र लोकतान्त्रिक मूल्यमान्यताका पक्षमा एमाले दृढतापूर्वक उभिने बताउनुभयो । जनताको अधिकार, राष्ट्रिय हित र मुलुकको समृद्धिका लागि पार्टीले आफ्नो जिम्मेवारी निरन्तर निर्वाह गर्ने उहाँको भनाइ थियो ।
उहाँले संविधान दिवसलाई संविधान निर्माणमा योगदान पुर्याउने सबैप्रति सम्मान व्यक्त गर्ने तथा संविधानका उपलब्धिको संरक्षण र प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संविधानको मर्म र भावनाअनुसार राष्ट्रिय एकता, लोकतन्त्र, सुशासन र सामाजिक न्यायलाई थप सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिइएको थियो ।
अध्यक्ष ओलीले पार्टीभित्र पुनःगठन, रुपान्तरणलगायत विषयमा देखिएका सवालमा यही असोज ६ र ७ गते बस्ने केन्द्रीय कमिटीले निर्णय गर्ने जनाउँदै बाहिर चर्चा गरिएजस्तो अन्तरकहल नरहेको जिकिर गर्नुभयो ।
समारोहमा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, एमालेका महासचिव शङ्कर पोखरेलसहित पदाधिकारी, सांसदहरू, केन्द्रीय सदस्य, जनप्रतिनिधि, पार्टीका विभिन्न जनसङ्गठनका प्रतिनिधि तथा नेताकार्यकर्ताको सहभागिता थियो ।
एमालेले शनिबार प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै असोज ३ गते पर्ने संविधान दिवसका अवसरमा विगतका वर्षमा झैँ यस वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिएको थियो ।




प्रतिक्रिया राख्नुहोस्