विश्वमै सबैभन्दा बढी वृद्धवृद्धाको देशका रुपमा स्थापित जापानमा पहिलोपटक १०० वर्ष वा सोभन्दा बढी उमेरका मानिसको संख्या एक लाख नाघेको छ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२६ सेप्टेम्बर १ सम्म देशभर १०० वर्ष वा सोभन्दा बढी उमेरका १ लाख ७ हजार ६७७ जना पुगेका छन्।
गत वर्षको तुलनामा यो संख्या ७ हजार ९१४ ले बढेको हो। सन् १९६३ देखि यस्तो तथ्यांक संकलन गर्न थालिएयता यो अहिलेसम्मकै उच्च संख्या हो। लगातार ५६औँ वर्ष जापानमा सय वर्ष वा सोभन्दा बढी उमेरका नागरिकको संख्या बढेको मन्त्रालयले जनाएको छ।
कुल शताब्दी उमेर समूहमा महिलाको संख्या अत्यधिक छ। ९४ हजार २९८ महिला, अर्थात् कुलको ८७.६ प्रतिशत, सय वर्ष वा सोभन्दा बढी उमेरका छन्। पुरुषको संख्या भने १३ हजार ३७९ रहेको छ।

११४ वर्षीया किशिमोतो जापानकी सबैभन्दा ज्येष्ठ
जापानकी सबैभन्दा ज्येष्ठ जीवित महिला क्योटोकी ११४ वर्षीया किशिमोतो फुयो हुन्। उनी मेइजी काल (सन् १८६८–१९१२) मा जन्मिएकी जीवित जापानी नागरिकका रूपमा समेत उल्लेखित छन्।
जापानका सबैभन्दा ज्येष्ठ पुरुष भने कुमामोतोका ११२ वर्षीय काटो हिकारु हुन्। किशिमोतो सन् २०२६ अगस्टमा ११५ वर्षीया कागावा शिगेकोको निधनपछि देशकै सबैभन्दा ज्येष्ठ नागरिक बनेकी हुन्।
जापानमा लामो आयु भएका नागरिकको संख्या बढ्दै जानुलाई जीवनयापनको वातावरणमा सुधार, पोषण तथा खानपानमा आएको परिवर्तन र चिकित्सा प्रविधिको विकाससँग जोडिएको छ। जापानका स्वास्थ्यमन्त्री केनिचिरो उएनोले लामो समयसम्म स्वस्थ जीवन बिताउने नागरिकको संख्या बढ्नु सकारात्मक पक्ष भएको बताएका छन्।
१९६३ मा जम्मा १५३ जना
जापानमा वृद्धकल्याणसम्बन्धी कानुन लागू भएको सन् १९६३ मा देशभर सय वर्ष वा सोभन्दा बढी उमेरका मानिसको संख्या जम्मा १५३ जना थियो। सन् १९८१ मा यो संख्या एक हजार नाघ्यो भने सन् १९९८ मा १० हजार पार गर्यो। सन् २०१२ मा ५० हजार नाघेको संख्या अहिले एक लाखभन्दा माथि पुगेको हो।
प्रति एक लाख जनसंख्यामा सय वर्ष वा सोभन्दा बढी उमेरका मानिसको अनुपात जापानभर औसत ८७.५१ जना रहेको छ। प्रिफेक्चरअनुसार भने ठूलो अन्तर देखिन्छ।
दीर्घायु बढेसँगै वृद्ध समाजको चुनौती
जापानमा सय वर्षभन्दा बढी उमेरका नागरिकको संख्या बढ्नु दीर्घायु र स्वास्थ्य क्षेत्रमा भएको प्रगतिका रूपमा देखिए पनि यसले देशको सामाजिक सुरक्षा प्रणालीमाथि दीर्घकालीन चुनौतीसमेत थपेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार वृद्ध जनसंख्या निरन्तर बढिरहेका अवस्थामा सामाजिक सुरक्षा प्रणालीलाई दिगो बनाउनु महत्त्वपूर्ण चुनौती हो।
वृद्ध नागरिकको संख्या बढ्दै जाँदा स्वास्थ्य सेवा, दीर्घकालीन हेरचाह, पेन्सन तथा सामाजिक सुरक्षामा राज्यको दायित्व पनि बढ्ने भएकाले जापानले पुस्ताबीचको जिम्मेवारी र सामाजिक सुरक्षा प्रणालीको दिगोपनबारे थप बहस गर्नुपर्ने अवस्था देखिएको छ।
यसरी एकातिर जापानमा मानिसको औसत आयु र सय वर्षभन्दा बढी बाँच्ने नागरिकको संख्या निरन्तर बढिरहेको छ भने अर्कोतिर घट्दो जन्मदर र वृद्ध हुँदै गएको जनसंख्याले देशको जनसांख्यिक संरचनामा ठूलो परिवर्तन ल्याइरहेको छ।
एक लाखभन्दा बढी शताब्दी उमेर समूहमा पुग्नु जापानको दीर्घायुको ऐतिहासिक उपलब्धि भए पनि यसले बदलिँदो जनसंख्यालाई कसरी व्यवस्थापन गर्ने भन्ने नयाँ चुनौती पनि उजागर गरेको छ।
जापानका प्रिफेक्चरमध्ये प्रति एक लाख जनसंख्यामा सय वर्ष वा सोभन्दा बढी उमेरका नागरिकको अनुपात शिमानेमा सबैभन्दा धेरै १८६.७ जना रहेको छ। त्यसपछि कोचीमा १६९.५, तोत्तोरीमा १५२.५, कागोशिमामा १४८.३ र नागानोमा १४६.९ जना रहेका छन्।
यसको विपरीत, सबैभन्दा कम अनुपात साइतामामा ५१.३ जना रहेको छ। त्यस्तै, आइचीमा ५७.८, ओसाकामा ६०.१, टोकियोमा ६२.४ र चिबामा ६२.९ जना सय वर्ष वा सोभन्दा बढी उमेरका नागरिक रहेका छन्।
समग्रमा पश्चिमी जापानमा सय वर्षभन्दा माथिको उमेर समूहको अनुपात पूर्वी जापानभन्दा बढी देखिन्छ भने टोकियो महानगर क्षेत्र केन्द्रित कान्तो क्षेत्रमा अनुपात कम छ।
– समाचार स्रोत निप्पन डट कम




प्रतिक्रिया राख्नुहोस्