पक्रने, छोड्ने र फेरि पक्रने : सरकारको यो कस्तो खेलो हो?
हैन ! यो सरकारको अरू के नै काम छैन कि क्या हो ? खाली मान्छे पक्रिने अनि छोड्ने गरेको मात्रै समाचार आउँछ त ! प्रधानमन्त्री वा गृहमन्त्री जे लाग्छ त्यही गर्न पाइन्छ र भन्या ? हुन त हामी दुईतिहाइको सरकार कहिल्यै नदेखेका मान्छे ! दुईतिहाइको सरकार भएपछि जे पनि गर्न पाइन्छ नि होला !
यसरी यो सरकारले गरेको जे पनि सही हुन्छ भने फेरि पक्राउका नाममा कसैलाई गोेडा सात–आठ दिन अस्पताल राखेर उल्टै उपचार र अप्रेसनसमेत गरेर पठाउने, अनि कसैलाई फेरि पक्राउ गरेर नराख्नु पर्ने हिरासतमा राख्ने, अस्पतालमा लगेर मजाले स्वस्थ बनाएर घर पठाउने, यो कस्तो खालको खेलो हो, बुझ्नै पाइएन ।
तत्कालीन प्रधानमन्त्री ओलीकै कुरा हेरौँ न । उनलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री हुन उमेर नै नमिलेको भनेर धज्जी उडाइयो । अनि बालेनको सरकार दुईतिहाइको मतले सत्तामा आयो र रातारात बालेनले ओली र लेखकलाई पक्राउ गरे । तर पक्राउ केका लागि गरे, त्यो चाहिँ थाहा भएन ।
पक्राउ गर्नेबित्तिकै अस्पताल लगे । डाक्टरले चेक गर्नेबित्तिकै थाहा भयो, पत्थरीको अप्रेसन गर्नुपर्ने रहेछ । झन् अस्पतालमा निःशुल्क अप्रेसन भयो ! के के नै ठूलै अपराधी हो कि भनेझैँ गरेर लगेको त अन्तिममा उपचार गरेर बेडरेस्ट गराएर आनन्दले बा अस्पतालबाट फर्किए । उल्टै ओलीबाट कुनै अपराध वा भ्रष्टाचार नभएको भन्ने अदालतले प्रमाणित गरेर पठाइदियो । कसैले आरोप लगाउने ठाउँ नै भएन, क्या मज्जा !
एकातिर राजनीतिज्ञहरूको कथा यस्तो सुन्दा अनौठो छ भने उता फेरि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कथा पनि कम्ता रोचक छैन । हप्तैपिच्छे पक्राउ हुँदै र छुट्दै गर्ने दुर्गा प्रसाईंको कथा पनि सुन्नलायकै छ ।
प्रसाईं न राजनीति गर्ने मान्छे हुन्, न सरकारका विरोधी । तैपनि उनलाई पक्राउ गर्ने र छोड्ने ठेगानै हुँदैन । कहिले गोडा तीन–चार साता त कहिले एकै साता सरकारी सिदा खाने भाग्य लिएर आएका प्रसाईं आफू त जेनजी आन्दोलनको पूर्ण समर्थन गरेर हिँड्ने मात्र होइन, मन्त्री नै बन्न पनि गएका थिए । तर सेनासँग त्यति राम्रो सम्बन्ध हुँदाहुँदै पनि मन्त्री बन्न पाएनन् ।
बिचराले हप्तैपिच्छे मामाघरको सिदा खान लेख्या रहेछ र पो मन्त्री हुन पनि नलेख्या रहेछ ! कहिले राजाको पक्षमा, अनि कहिले लघुवित्तपीडितका पक्षमा, त कहिले जेनजीको पक्षमा जुलुस निकाल्दानिकाल्दै विचरा दुर्गा प्रसाईंको जिन्दगी नै सकिने भो ।
हुन पनि यसो कोही सरकारी सेवामा भएका अथवा त्यही सेवाबाट रिटायर भएका व्यक्तिलाई पक्राउ गरेर छोडेको भोलि या पर्सिपल्टै प्रसाईंलाई पक्राउ गरिहाल्नुपर्ने के कारण रहेछ कुन्नि !
यो पटक पनि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई पक्राउ गरेर छोडेको भोलिपल्टै फेरि दुर्गा प्रसाईंलाई ‘कर्यापझ्याप’ पारिहाल्यो त नि प्रहरीले !
पक्राउ पर्ने कारणै नदिएर पनि पक्राउ गर्ने चलन चलेको हुनाले किन पक्रेछ भन्ने थाहा भएन । तर भर्खरै मात्रै दुर्गा प्रसाईंलाई पक्राउ गरिएको भन्ने समाचार आएपछि थाहा भयो, चोलेन्द्रलाई छोड्यो, प्रसाईंलाई हुल्यो !
ए सरकार ! यो थुन्ने–छोड्ने बाहेक अरू कुनै खेल खेल नै होइन ? जसले गर्दा जनताको समृद्धि होस्, बेरोजगारले रोजगारी पाउन, भोकोले खान पाओस्, अन्यायमा परेकोले न्याय पाओस्, बिरामीले उपचार पाओस्, पढ्न नपाएकाले पढ्न पाओस् र समाजमा शान्ति–सुरक्षा छाओस् ।
यो खाली मान्छे समात्यो, अदालतले छोड्यो । न त अदालतले अपराधी भनेर ठोक्या छ, न त कोही दोषी प्रमाणित भएको छ । कोर्टमा पुर्यायो, छोड्यो । हरेक केसमा सरकार नाङ्गिँदै जाँदा पनि फेरि त्यही काम दोहोर्याउनु राम्रो हो र ?
बिचार पुर्याएर काम गरौँ है ! तपाईंहरूका कार्यकर्ता र जनता ‘जेनजीको सरकारले गल्ती गर्दैन’ भन्दै हिँड्ने, तर तपाईंहरूका हरेक कामलाई अदालतले गलत प्रमाणित गर्दै जाने हो भने त कहाँ होला त नि !
त्यसैले बेलैमा सचेत हुने कि सुध्रिने- के हो ? निर्णय गरौँ ।




प्रतिक्रिया राख्नुहोस्