जन सरोकार

छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य

सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर छ महिना पुर्याउने प्रस्ताव अघि बढाएको छ । आमालाई प्रसूतिपछि पर्याप्त समय आराम गर्न, नवजात शिशुको स्याहार गर्न र छ महिनासम्म पूर्ण स्तनपान गराउन सहज हुने भन्दै प्रस्तावित व्यवस्थालाई स्वास्थ्य क्षेत्रका विज्ञले आवश्यक र महत्वपूर्ण बताएका छन् ।

किशोरी आमा

‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ लाई संशोधन गर्दै सुत्केरी बिदा छ महिना बनाउने प्रस्ताव गरिएको हो । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ को मस्यौदामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी छ महिनासम्म तलबसहितको सुत्केरी बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै, पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीलाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ ।

प्रस्तावित संशोधनको उद्देश्य आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षण, स्तनपान प्रवद्र्र्धन र प्रसूतिपश्चात् आमालाई पर्याप्त आराम तथा हेरचाहको अवसर उपलब्ध गराउने रहेको छ ।

प्रतिनिधिसभामा ‘यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव’ सोमबार स्वीकृत भइसकेको छ । प्रस्ताव पेस गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मातृत्वमा गरिएको लगानी राज्यको भविष्यमाथिको लगानी गरिएको बुझ्नुपर्ने बताउनुभयो ।

छ महिने सुत्केरी बिदालाई सुविधा वा बिदाका रूपमा मात्र नहेरी मातृत्वको सम्मान, आमा तथा नवजात शिशुको स्वास्थ्य, पोषण र दीर्घकालीन मानव पुँजी निर्माणसँग जोडेर हेर्नुपर्ने उहाँको भनाइ छ ।

‘सुत्केरी बिदाले पूर्ण स्तनपानलाई प्रोत्साहन गर्छ’

परिवार कल्याण महाशाखाअन्तर्गत मातृ तथा नवजात शिशु शाखा प्रमुख डा गौरी प्रधान श्रेष्ठले छ महिनाको सुत्केरी बिदा आमा र नवजात शिशुको स्वास्थ्यका लागि आवश्यक रहेको बताउनुभयो ।

विकसित देशमा बालबालिकाको स्याहारका लागि लामो बिदा दिने अभ्यास रहेको उल्लेख गर्दै उहाँले कतिपय देशमा दुई वर्षसम्म पनि बिदा दिने गरिएको उदाहरण दिनुभयो । उहाँका अनुसार नवजात शिशुका लागि आमाको दूध अत्यन्त महत्वपूर्ण हुने भएकाले कम्तीमा छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ ।

“आमाको दूधले नवजात शिशुको मृत्यु तथा विभिन्न रोगबाट बचाउन सहयोग गर्नुका साथै रोगसँग लड्न सक्ने क्षमता विकास गर्छ,” प्रमुख श्रेष्ठले भन्नुभयो, “पहिलो खोप नै आमाको दूध हो ।”

तथ्याङ्कले पनि शिशुले स्तनपान पाउने सङ्ख्यामा कमी आएको देखाउँछ । नेपाल बहुसूचक सर्वेक्षण सन् २०२४–२५ अनुसार छ महिनाभन्दा कम उमेरका शिशुमध्ये १० मध्ये सात शिशुले मात्र पूर्ण स्तनपान पाएका छन् । यस्तै १० मध्ये चारभन्दा कम शिशुले मात्र जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गरेका छन् ।

छ महिनाको सुत्केरी बिदाले आमालाई प्रसूतिपछि शारीरिक रूपमा तङ्ग्रिन र सामान्य अवस्थामा फर्किन समय उपलब्ध गराउने उहाँको भनाइ छ । कामकाजी महिलाको सङ्ख्या बढ्दै गए पनि सबै कार्यस्थलमा स्तनपान कक्षको पर्याप्त व्यवस्था छैन ।

“कतिपय कार्यालयमा शिशु राख्ने ठाउँ भए पनि सहज रूपमा स्तनपान गराउन नपाउने अवस्था पनि छ,” उहाँले भन्नुभयो ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले पनि छ महिनाको सुत्केरी बिदा दिने व्यवस्था सकारात्मक र स्वागतयोग्य भएको बताउनुहुन्छ । उहाँले यस्तो व्यवस्थाले महिला तथा नवजात शिशुको स्वास्थ्यमा राम्रो प्रभाव पार्ने बताउनुभयो ।

मातृ तथा नवजात शिशु शाखा प्रमुख डा श्रेष्ठले पनि छ महिनाको सुत्केरी बिदा कार्यान्वयन गर्दा सुरुआती चरणमा केही अप्ठ्यारो हुन सक्ने बताउनुभयो । “तर, यसलाई भविष्यको पुस्ताका लागि लगानीका रूपमा लिनुपर्छ । विभिन्न विकसित राष्ट्रले अपनाएका अभ्यासबाट पनि सिक्न सकिन्छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.