धौलीगंगा बाँध खोलिने भएपछि महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भारतको धारचुलास्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलिने भएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै कञ्चनपुरका महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै शनिबारदेखि सोमबारसम्म महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
भारतको धारचुलास्थित धौलीगङ्गा जलविद्युत् परियोजनामा नदीमा जम्मा भएको बालुवा, गेग्रान तथा अन्य पदार्थ हटाउने काम अर्थात् सिल्ट सफाइ गर्न बाँधका ढोका खोलिने भएकाले महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार करिब ४८ घण्टासम्म सिल्ट सफाइको काम हुने भएकाले शनिबार राति १ बजेदेखि सोमबार राति १ बजेसम्म महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना छ ।
“अठचालिस घण्टासम्म सिल्ट सफाइ कार्य गर्नुपर्ने भएकाले बाँधको ढोका खोलिनेछ । त्यसका कारण महाकाली नदीमा जलस्तर बढ्न सक्छ,” जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
धौलीगङ्गा बाँधबाट पानी छाडिँदा महाकाली नदीको बहाव बढ्न सक्ने भएकाले कञ्चनपुरको महाकाली नदी किनारमा रहेका बस्ती तथा नदी आसपासका तल्लो भूभागमा बसोबास गर्ने स्थानीय प्रभावित हुनसक्ने प्रशासनले जनाएको छ ।
नदीको बहाव बढ्दा नदी किनारका खेतीयोग्य जमिन, पशुचौपाया राख्ने स्थान तथा नदी आसपासका संरचनामा समेत जोखिम बढ्न सक्ने भएकाले स्थानीयलाई नदी किनारमा नजान र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
विशेषगरी महाकाली नदीको तटीय क्षेत्रअन्तर्गत दोधारा–चाँदनी, भीमदत्त नगरपालिका तथा महाकाली नदीसँग जोडिएका अन्य तल्लो तटीय क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
नदीको बहाव बढेको अवस्थामा माछा मार्ने, नदी तर्ने, नदी किनारमा जाने तथा नदी आसपासका जोखिमयुक्त स्थानमा आवतजावत नगर्नसमेत अनुरोध गरिएको छ ।
धौलीगङ्गा जलविद्युत् परियोजना भारतको उत्तराखण्ड राज्यको धारचुला क्षेत्रमा महाकाली नदीको सहायक नदी धौलीगङ्गामा रहेको जलविद्युत् आयोजना हो ।
आयोजनाको बाँधबाट पानी छाडिँदा त्यसको प्रभाव तल्लो तटीय क्षेत्रमा महाकाली नदीको बहावमा पर्न सक्छ । त्यसैले बाँध खोलिने समयलाई ध्यानमा राखेर नेपालतर्फको महाकाली तटीय क्षेत्रमा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले नदीको जलस्तरमा हुने परिवर्तनबारे स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायमार्फत निगरानी राखिने जनाएको छ । सम्भावित जोखिम देखिएमा स्थानीयलाई समयमै सुरक्षित स्थानमा जानसमेत आग्रह गरिएको छ ।
प्रशासनले शनिबार राति १ बजेदेखि सोमबार राति १ बजेसम्मको अवधिमा विशेष सावधानी अपनाउन आग्रह गर्दै महाकाली नदीको बहाव बढेको अवस्थामा नदी किनार तथा तल्लो तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्