राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत लुम्बिनी लायन्स शीर्ष स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा विराटनगर किङ्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी शीर्ष स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरेको हो ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले चरित असलंकाको अर्धशतकमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो ।
विराटनगरका लागि चरित असलंकाले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले भने शुभम रन्जानेले २४ बलमा ४ चौकाको मद्दतमा अविजित ३१ रन बनाए । त्यस्तै ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ट हर्ट हुँदा लोकेश बमले १७ बलमा १५ रन जोडे ।
बलिङमा लुम्बिनीका लागि किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले समान १–१ विकेट लिए । विराटनगर किङ्सले दिएको १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । उसका लागि डार्सी सर्ट र आसिफ शेखले समान ४५-४५ रन बनाए भने अलि शेखले २७ र सन्दीप जोराले अविजित २५ रन बनाए । विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले २ तथा रुपेश सिंह र चरिथ अशलङ्काले समान १/१ विकेट लिए ।
जितसँगै लुम्बिनी सात खेलमा ११ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लियो भने विराटानगरको प्लेअफ पुग्ने चुनौती समाप्त हुँदै ६ अंकसहित पाँचौ स्थानमै सिमित रह्यो । लुम्बिनीले विराटनगरलाई पराजित गरेपछि प्ले अफमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । प्ले अफमा लुम्बिनी, सुदूरपश्चिम रोयल्स काठमान्डु गोर्खाज र चितवन राइनोज छनोट भएका छन् ।




प्रतिक्रिया राख्नुहोस्