राजनीति

आयातित र महँगा संस्कृतिले विवाह पञ्चमीको मौलिकता ओझेलमा पर्न सक्छ : उपपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विवाह पञ्चमीका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको कामना गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै उपपराष्ट्रपति यादवले हरेक वर्षको मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिमा मनाइने विवाह पञ्चमी, २०८० का अवसरमा सनातन धर्ममा विवाह पञ्चमीको ठूलो महत्व रहेको भन्दै सबैलाई शुभकामना दिनुभयो ।

उहाँले ऐतिहासिक, सांस्कृतिक, धार्मिक र मौलिक अनुष्ठानहरूले सिङ्गो मानवजीवनलाई सत्यनिष्ठा, प्रेम, स्नेह, सहिष्णुता, मेलमिलाप, मैत्रीभाव, कुटुम्बभाव, भाइचारा आदिको सकारात्मक सञ्चार गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले विवाह पञ्चमी मनाउँदै गर्दा धर्म, संस्कृति, रीतिरिवाज र परम्पराका नाममा पछिल्लो समय देखासिकी, विकृति र विसङ्गति मौलाउँदै गएको भन्दै त्यसलाई परित्याग गर्न सक्नुपर्ने पनि धारणा राख्नुभएको छ ।

उहाँले भन्नुभयो, “लाखौँ रकम खर्चेर बनाइने महँगा पण्डाल, ठूलो परिमाणको अनाजबाट मूर्ति बनाउनेजस्ता आयातित र महँगा संस्कृतिले विवाह पञ्चमीको मौलिकता ओझेलमा पर्न सक्छ” ।

उपराष्ट्रपति यादवले भन्नुभयो, “विवाह पञ्चमीलाई महोत्सवका रूपमा मनाउने तर यो दिन वैवाहिक सम्बन्ध कायम गर्न नहुने जुन भाष्यलाई पछिल्लो समय बढी प्रचारमा ल्याइएको छ त्यसले नकारात्मक सन्देश जान सक्छ, यसप्रति सबैजना सचेत र सावधान हुन अति जरुरी छ ।”

विवाह पञ्चमीको अवसरमा रामजानकी मन्दिरहरूमा भव्य कार्यक्रम आयोजना हुनुका साथै माता सीता र श्रीराम भगवान्को पूजा–उपासना गर्ने परम्परा रहिआएको छ । धार्मिक मान्यताअनुसार यसै तिथिमा भगवान् राम र जनक नन्दनी सीताको शुभविवाह भएको थियो ।

यस अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाम स्वदेश र विदेशका श्रद्धालु, भक्तजन र धार्मिक पर्यटकहरूले खचाखच भरिएको हुन्छ । यो अवसरमा सीताराम स्तुति, कथावाचन, प्रवचन, धार्मिक झा“की, प्राचीन गीतसङ्गीत आदिको आयोजना हुने गर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.