विश्व समाचार

गाजामा बालबालिकाका लागि पिउने पानीको सङ्कट, यूनिसेफद्वारा चिन्ता व्यक्त

गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ ।

गाजामा बालबालिकाका लागि पिउने पानीको सङ्कट, यूनिसेफद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रमुख क्याथरिन रसेलले बुधबार गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिनुभएको हो ।

“पर्याप्त मात्रामा स्वच्छ पानीको पहुँच जीवन र मृत्युको विषय हो”, युनिसेफकी कार्यकारी निर्देशक रसेलले भन्नुभयो, “गाजाका बालबालिकाले ‘थोपा थोपा’ मात्र स्वच्छ पानी पिउन पाएका छन् । यसका कारण बालबालिका र उनीहरूका परिवारले असुरक्षित स्रोतहरूको पानी प्रयोग गरिरहेका छन् जुन अत्यधिक प्रदूषित छ । सुरक्षित पानीको अभावमा आगामी दिनमा अझ धेरै बालबालिका अभाव र रोगका कारण मर्नेछन् ।”

करिब १० हप्ताभन्दा बढी समयदेखि निरन्तर बमबारी भइरहेको घटनापछि मानवीय सतर्कता अपनाइएको हो । गाजा पट्टीको पानी उत्पादन, उपचार र वितरण सञ्जाललाई ठूलो असर पार्ने बमबारीबाट बच्नका लागि १४ लाखभन्दा बढी विस्थापित गाजावासीले प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएद्वारा सञ्चालित सुविधाहरूमा वा नजिकै आश्रय लिएका छन् ।

युनिसेफका अनुसार दक्षिणी राफा प्रान्तमा हालै विस्थापित बालबालिकासँग दैनिक डेढदेखि दुई लिटर मात्र पानी छ र स्वच्छ खानेपानीको सेवा ‘अवरूद्ध अवस्थामा’ छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बाँच्नका लागि मात्र दैनिक न्यूनतम तीन लिटर पानी आवश्यक पर्छ । पिउने पानीको अभावका कारण लाखौं विस्थापित भएका र तीमध्ये आधा बालबालिका पनि खाद्यान्न, आवास, औषधि र सुरक्षाको खाँचोमा छन् ।”

युनिसेफले बालबालिकामा झाडापखाला, रोग र कुपोषणको जोखिम बढी हुने भएकोले यस अवस्थाको असर विशेष गरी चिन्ताजनक रहेको चेतावनी दिएसँगै गाजामा आधारभूत पानी र सरसफाइ सेवा प्रदान गर्ने कम्तीमा ५० प्रतिशत सरसफाईका सेवाहरू पनि क्षतिग्रस्त वा नष्ट भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.