राजनीति

“कोरोना संक्रमण रोक्न के के गर्नुपर्छ सबै गर्नु”

मुलुकमा केही दिनयता कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले को सम्भावित संक्रमणको तेस्रो लहरको रोक्न निर्देशन आवश्यक सबै कदम चाल्न निर्देशन दिनुभएको छ ।

शुक्रबार पछिल्लो २४ घण्टामा संक्रमितहरुको तथ्यांक सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिनुभएको हो ।

उहाँले बुस्टर डोज र भारतसँग रहेको खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । यही पुस २२ गते ५४० मा पुष्टि भएको कोरोना भाइरस सङ्क्रमण आज एकैदिन ९६८ जनामा पुष्टि भएको छ । भारतको पन्जाव, गुजरात, उत्तरप्रदेश, बिहारलगायत प्रदेशमा सङ्क्रमणको तेस्रो लहर फैलिसकेको छ ।

तेस्रो लहर फैलिन नदिनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सङ्क्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन गर्नुभयो । उहाँले सीमामा तेस्रो लहरको सङ्क्रमणको चुनौति रहेकाले सीमा नाकामा कोरोना भाइरसको परीक्षण दर बढाउन पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले भारतसँग सीमा जोडिएका नाकामा होल्डिङ सेन्टर पनि चाँडै स्थापना गर्न निर्देशन दिनुभयो । “भारत सीमाबाट आएका सबै व्यक्तिलाई परीक्षण गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “परीक्षण गर्दा सङ्क्रमण भेटिए आइसोलेशन र होल्डिङ सेन्टरमा राखेर उपचार गर्नुपर्दछ ।” उहाँले तेस्रो लहरको ओमिक्रोन भेरियन्ट छिटो फैलिने भएकाले खतरा रहेको र समयमै रोकथाम र नियन्त्रणका लागि आवश्यक काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले बुस्टर डोज लगाएपछि तेस्रो लहरको खतरा कम हुने भएकाले सबैलाई बुस्टर डोज लगाउने गरी व्यवस्थापनसमेत गर्न निर्देशन दिनुभयो । उहाँले तेस्रो लहरको सम्भावित जोखिम हुन नदिनका लागि अस्पतालमा अक्सिजन र शैय्याको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

नागरिकलाई बचाउनु सरकारको कर्तव्य भएको भन्दै प्रधानमन्त्री देउवाले सबैको सहयोगले सम्भावित तेस्रो लहरलाई नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । “अक्सिजन नै नपाएर मानिस मर्नु हुन्न”, उहाँले भन्नुभयो, “त्यसैले सबै मिलेर कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि युद्धस्तरमा काम गर्नुपर्दछ ।”

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सीमा नाकामा चाँडै नै होल्डिङ सेन्टर निर्माण गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले सङ्क्रमितको पहिचान गरी आइसोलेशनमा राख्नुपर्ने बताउनुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले विगतको अनुभवलाई लिएर उच्च सतर्कता नअपनाए ठूलो सङ्कट व्यहोर्नु पर्ने भन्दै चाँडै नै सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणको उच्च तयारीमा लाग्नुपर्ने भनाइ राख्नुभयो । उहाँले खोप अभियानलाई तीव्रता दिनुपर्ने भन्दै खोप समयमा नै दिन नसके अकल्पनीय दुर्घटना व्यहोर्नुपर्नेतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोन भेरियन्टको रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । उहाँले ओमिक्रोन भेरियन्टबाट ठूलै डर सिर्जना हुने नठानेर पहिलेको अनुभवबाट नै नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो । उहाँले अहिले तेस्रो लहरको हल्लासँगै खोप लगाउनेको सङ्ख्या पनि बढेको भन्दै खोप लगाउनका लागि अभियान नै सञ्चालन गर्ने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्था, पार्टी प्यालेस र भीडभाड हुने ठाउँमा सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमानस्थलको आगमन र प्रस्थान दुवै ठाउँमा पीसीआर परीक्षण गरेर मात्रा यात्रुलाई चढाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नेपालबाहिरबाट आएका सङ्क्रमितलाई होल्डिङ सेन्टरमा राख्नुपर्ने बताउनुभयो । उहाँले विगतमा अक्सिजन नपाएर धेरै मानिसले ज्यान गुमाउनुपरेको भन्दै अक्सिजनको व्यवस्थापन प्रर्याप्त गर्नुपर्ने बताउनुभयो ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले गाउँगाउँमा खोप अभियान सञ्चालन गरेर सबैलाई खोप लगाउनुपर्ने बताउनुभयो । उहाँले परीक्षणको दायरा बढाउँदै आइसोलेशन र होल्डिङ सेन्टर जतिसक्दो चाँडो निर्माण गर्नुपर्ने बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री किसान श्रेष्ठले राजनीतिक दलका आमसभा, भीडभाड हुने कार्यक्रम र सार्वजनिक कार्यक्रम रोक्नुपर्ने बताउनुभयो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले स्वास्थ्यका मापदण्ड पालना गर्नमा लापरवाही बढिरहेकाले जनचेतना जगाएर स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने बताउनुभयो । उहाँले होल्डिङ सेन्टरको निर्माण दु्रतगतिबाट गर्नुपर्ने र सीमाको आवतजाउमा कडाइ गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा मुख्यसचिव शङ्करदास बैरागीले विगत र छिमेकी देशको अनुभवलाई हेरेर सम्भावित जोखिम हुन नदिने उपाय अपनाउनुपर्ने बताउनुभयो । उहाँले जतिसक्दो सबै नागरिकलाई खोप दिनुपर्ने भन्दै खोपका लागि आवश्यक सिरिन्ज कहाँबाट चाँडै पाइन्छ त्यहीँबाट ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले दोस्रो लहरमा स्थानीय र प्रदेश तहले राम्रोसँग काम नगरेकाले कुनै संयन्त्र बनाएर स्थानीय र प्रदेश तहलाई सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणमा जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।

अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनीले होल्डिङ सेन्टर स्थापनाका लागि बजेट अभाव हुन नदिने बताउनुभयो । उहाँले सबै नेपालीलाई खोपको लागि आर्थिक स्रोत सुनिश्चित भइसकेको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले तेस्रो लहरको जोखिम बढेकाले भीडभाड हुने ठाउँमा सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले यही महिनाभित्र स्थानीय तहसँगको सहकार्यमा खोप अभियानलाई तीव्रता दिइँदै सबैलाई खोप लगाउने जानकारी दिनुभयो । उहाँले दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढिरहेकाले सीमा नाकामा परीक्षणको दायरा बढाइएको बताउनुभयो । उहाँले सम्भावित तेस्रो लहरको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि पाँचौँ कोभिड–१९ स्वास्थ्य दु्रत कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो ।

नेपाली सेनाका उपरथी डा अरुण न्यौपाने र सेनानी राजीवमोहन झाले सम्भावित तेस्रो लहरको नियन्त्रण तथा रोकथाममा नेपाली सेनाले खेल्ने सक्ने भूमिकाबारे प्रस्तुती प्रस्तुत गर्नुभयो । सेनानी झाले एक हजार क्षमताका नौ वटा होल्डिङ सेन्टर निर्माण भइरहेको बताउनुभयो । उहाँले अहिलेसम्म ७८ प्रतिशत होल्डिङ सेन्टरको भौतिक प्रगति भइसकेको भन्दै बजेट अभावका कारणले होल्डिङ सेन्टर स्थापनामा ढिलाइ भएको समेत जानकारी गराउनुभयो। रु दुई अर्ब २९ करोड होल्डिङ सेन्टरका लागि बजेट विनियोजन भए पनि हालसम्म एक अर्ब निकासा नभएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.