जन सरोकार

मीना परियार हत्या आरोपी सबै पक्राउ, न्याय नपाउँदासम्म दवाव जारी राख्ने आफन्तको अडान

म्याग्दीको बेनी नगरपालिका ९ तोरीपानीकी १९ वर्षीय मिना परियार २०८० पुस १६ गते रातीदेखि बेपत्ता भइन । खोजीका क्रममा २०८१ साउन २७ गते जङ्गलमा सडेगलेको अवस्थामा शव फेला पर्यो ।

मीना परियार

बेनी नगरपालिका ९ र १० को सीमानामा पर्ने कालिमुलको जङ्गलमा फेला परेको शव मीनाकै भएको आफन्तले किटानी गरी जिल्ला प्रहरी कार्यालय म्याग्दीमा किटानी जाहेरी दिए ।

मिनाको हत्यामा संलग्न सबै पक्राउ नपरेको भन्दै स्थानीयले दवाव सिर्जना गरिरहेका बेला प्रहरीले किटानी जाहेरीका आधारमा हत्या घटनामा संलग्न भएका सबै आरोपीलाई प्रक्राउ गरिएको जनाएको छ।

प्रहरीले हत्या घटनामा संलग्न भई फरार भएका बेनी नगरपालिका ९ तोरीपानीका २३ वर्षीय श्याम खत्रीलाई पोखरामा पक्राउ गरेर बिहीबार म्याग्दी जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजन रायमाझी बताउनुभयो ।

सो घटनामा संलग्न चारजना यसअघि नै पक्राउ परेका र फरार रहेका श्यामलाई म्याग्दीबाट खटिएको प्रहरीको टोलीले कास्की प्रहरीको सहयोगमा बुधबार पोखरामा पक्राउ गरेर ल्याइएको उहाँले जानकारी दिनुभयो ।

व्यक्ति बेपत्ता बनाएको कसुरमा २०८० माघ २३ गते पक्राउ परेका तोरीपानीका २५ वर्षीय राम खत्रीलाई म्याग्दी जिल्ला अदालतको २०८० फागुन १७ को थुनछेक आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

पाँच महिनाको गर्भ पतन गराउने विषयमा मिना र रामबीच फेसबुक म्यासेन्जरमा भएको कुराकानीको आधारमा किटानी जाहेरी दर्ता भएको दिन रामलाई प्रहरीले पक्राउ गरेको थियो ।

गाडिएको अवस्थामा भेटिएको शव र सँगैका गहना तथा कपडालाई मिनाको भएको सनाखत गरेर परिवारले गत साउन ३० गते राम सहित उनकी आमा ४५ वर्षीय रेणु खत्री, दाई विक्की खत्री,भाई श्याम खत्री र सालो नाता पर्ने २३ वर्षीय रोजन खत्रीलाई प्रतिवादी बनाएर जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

फरक–फरक मितिमा पक्राउ परेका रेणु, विक्की र रोजनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

पहिलो व्यक्ति बेपत्ता बनाएको कसुरमा मुद्दा चलाए पनि भेटिएको शवको सनाखत गरेर परिवारले किटानी जाहेरी दिएपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको सूचना अधिकारी रायमाझीले बताउनुभयो ।

मीनासँगको प्रेम सम्बन्ध स्वीकार गरेका मुख्य आरोपी रामले प्रहरी, सरकारी वकिल कार्यालय र अदालतमा भने बेपत्ता बनाएको र हत्या गरेको घटनामा इन्कारी बयान दिएको प्रहरीको भनाइ छ ।

शव परीक्षण, विधि विज्ञान प्रयोगशालाको प्रतिवेदन,शवसँगै भेटिएको सामग्री, म्यासेन्जर कुराकानी लगायतका तथ्य प्रमाणलाई आधार मानेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेटिएको शव महिलाको भएको, धारिलो हतियार प्रयोग गरेर हत्या भएको र पेटमा भ्रूणसमेत रहेको पुष्टि भएको छ । घटनाको थप अनुसन्धानका गर्नका लागि प्रहरीले डिनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाएको छ ।

मीना परियारको हत्या घटनाको सत्य, तथ्य अनुसन्धान, कारबाही र पीडितलाई न्याय दिलाउन दबाब दिन बेनीमा पछिल्लो १५ दिनयता दैनिकजसो धर्ना र प्रदर्शन भइरहेको छ ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको आयोजनामा बेनी बजारमा बिहीबार गरिएको दबाब कार्यक्रममा दलित अधिकारकर्मी र राजनीतिक दलका नेताहरुले मीनाको हत्या गर्नेलाई कडा कारबाहीको माग गर्दैआएका छन् ।

मीना परियार हत्या प्रकरण : ‘न्यायका लागि हारगुहार’

जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.