प्रदेशसुदूरपश्चिम

भारतीय केराले नेपाली व्यवसायी मारमा परेपछि मुख्यमन्त्रीलाई ज्ञापनपत्र

भारतबाट आयात हुने केराका कारण नेपाली व्यवसायी मारमा परेका भन्दै नेपाली केरा व्यवसायी सङ्घले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई शनिबार ज्ञापनपत्र बुझाएको छ ।

केराखेती

नेपाली किसानद्वारा लगानी मिहिनेत र गरेर उत्पादित गुणस्तरीय केरा भारतीयबाट आयत हुने सस्तो मूल्यका केराका कारण आफ्नै देशभित्र उचित मूल्य र बजार नपाएको भन्दै कैलाली र कञ्चनपुरका केरा उत्पादक तथा व्यवसायी सङ्घको संयुक्त टोलीले मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाएको हो ।

कैलालीमा उत्पादित गुणस्तरीय केराले उचित मूल्य र बजार नपाएपछि किसान निराश हुनुको साथै आर्थिक क्षतिसमेत भएको सङ्घले जनाएको छ । उत्पादन लागत उठ्न नसक्दा केरा किसान ऋणमा डुब्ने अवस्था आएको, अधिकांश किसान घाटा भएपछि केराखेतीबाट निरुत्साहित भई विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको केरा व्यवसायीको भनाइ छ ।

नेपाली किसानद्वारा उत्पादित केरालाई प्राथमिकता दिनु, आत्मनिर्भर कृषि प्रणालीको विकास गर्नु, किसानलाई उचित मूल्य दिनु र आपूर्तिमा सन्तुलन कायम गर्नु राज्यको दायित्व रहेको कैलाली केरा उत्पादक तथा व्यवसायी सङ्घका अध्यक्ष दिपेन्द्र थारुले बताउनुभयो ।

भारतबाट आयात गरिने केरा मङ्सिरसम्म पूर्णरूपले बन्द गर्नुपर्ने, प्लान्ट क्वारेन्टाइनको कानुनी, प्राविधिक र प्रशासनिक प्रक्रियामा कडाइ गर्नुपर्ने, नेपाली केरा प्राथमिकताका साथ उपभोग गर्न आमउपभोक्तालाई राष्ट्रियस्तरमा सरकारले आह्वान गर्नुपर्ने, नेपाली केरा उत्पादक किसानको रक्षा सरकारले गर्नुपर्ने र तत्काल नेपाली केराको उचित मूल्यसहित बजार सुनिश्चित गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको सङ्घका अध्यक्ष थारुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.