नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाज सामू जितको लागि १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनायो । जनकपुरको लागि आसिफ शेखले ४१ बलमा छ चौका र एक छक्काको मद्दतमा ५४ रनको अर्धशतकीय पारी खेले भने मयंक यादव ३४ रनमा अविजित रहे ।
त्यस्तै लाहिरु समरकुनले २२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । काठमाडौँको लागि मिलिन्द कुमारले तीन विकेट लिए भने करण केसी, शाहब आलम र सन्तोष यादवको भागमा समान एक-एक विकेट रह्यो ।
जनकपुर बोल्ट्स अनिल शाहको कप्तानीमा मैदान उत्रिएको छ भने काठमाडौंको नेतृत्व करण केसीले सम्हालेका छन् । गत वर्षको च्याम्पियन जनकपुर उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ भने काठमाडौं गोर्खाज विजयी सुरुवात गर्ने दाउमा छ । यस पटक स्तरोन्नति गरिएको त्रिवि मैदानको फ्लडलाइटमा प्रतियोगिताका अधिकांश खेलहरू हुनेछन् । प्रतियोगितामा कुल आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।
काठमाडौँले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको भूमिकामा नियुक्त गरेको छ भने जनकपुरले वेस्ट इन्डिजका शिवनारायण चन्द्रपाललाई नियुक्त गरेको छ ।
दोस्रो संस्करण्को जनकपुरको टोलीमा मार्की खेलाडी आसिफ शेखसहित अनिलकुमार साह, जान निकोल लोफ्टी इटोन, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, इम्रान ताहिर, तुलबहादुर थापामगर, मयन यादव, आदित्य महता, विकास अग्री, सचिन भट्टलाई, लाहिरु मिलन्था, वायने पार्ने र सञ्जय कृष्णमुर्ती छन् ।
त्यस्तै काठमाडौँ गोर्खाजमा मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, रिकार्डो भास्कोनेसेलोस, मिलिन्ड कुमार,मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापा, जेरहार्ड इरस्मस, जोहन सिम्पसन, बेन चाल्र्सवर्थ र सन्नी पटेल छन् ।
त्यसअघि र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भव्य कार्यक्रमबीच प्रधानमन्त्री शुशिका कार्कीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा त्रिवि मैदानमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।




प्रतिक्रिया राख्नुहोस्