बिचार

आगामी सरकारलाई स्वतन्त्र नागरिकको तर्फबाट सुझाव

कुनै पनि नयाँ राजनीतिक शक्ति सरकारमा पुग्नु केवल सत्ता परिवर्तनको घटना मात्र होइन, त्यो देशको शासन प्रणाली सुधार्ने एउटा अवसर पनि हो। अब राष्ट्रिय स्वतन्त्र पार्टीले निश्चय पनि सरकार गठन गर्नेछ भने जनताको अपेक्षा पनि स्वाभाविक रूपमा धेरै हुनेछ।

एक स्वतन्त्र नागरिकको दृष्टिकोणबाट हेर्दा, यस्तो समयमा सबैभन्दा महत्वपूर्ण कुरा सुशासन, पारदर्शिता र संस्थागत सुधारलाई प्राथमिकतामा राख्नु हो।

सरकारले गर्ने निर्णय, बजेटको प्रयोग र नियुक्ति प्रक्रियालाई सकेसम्म पारदर्शी बनाउनु अत्यन्त आवश्यक छ। नागरिकले राज्यका कामबारे सजिलै जानकारी पाउन सक्ने व्यवस्था हुनु लोकतन्त्रको आधार हो।

त्यसैले सरकारी कामकारबाहीलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्ने र नागरिकलाई निगरानी गर्ने अवसर दिने प्रणाली विकास गर्नुपर्छ। यसले भ्रष्टाचार नियन्त्रण गर्न पनि ठूलो सहयोग पुर्‍याउँछ।

राजनीतिक हस्तक्षेपका कारण कमजोर बनेका अदालत, सुरक्षा निकाय, संबैधानिक निकाय लगायत धेरै संस्थाहरूलाई बलियो बनाउनु अर्को महत्वपूर्ण काम हो। प्रशासनिक संयन्त्रलाई पेशागत र जिम्मेवार बनाउँदै संवैधानिक निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिने वातावरण सिर्जना गर्नुपर्छ।

प्रहरी, न्याय प्रणाली र नियामक निकायहरूलाई राजनीतिक प्रभावबाट टाढा राख्न सकियो भने शासनप्रणालीप्रति जनविश्वास बढ्न सक्छ।

अर्थतन्त्र र रोजगारीको प्रश्न अहिले नेपालको सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो। ठूलो संख्यामा युवा विदेश जान बाध्य भइरहेका छन्। त्यसैले सरकारले देशभित्रै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्छ।

कृषि, पर्यटन, सूचना प्रविधि र साना तथा मझौला उद्योगमा लगानी बढाएर उद्यमशीलतालाई प्रोत्साहन गर्न सकिन्छ। युवा सहज ऋण, सीप विकास र कर सहुलियत उपलब्ध गराइयो भने उनीहरू देशभित्रै अवसर खोज्न उत्साहित हुन सक्छन्।

साथै, सरकारी सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ। सामान्य कामका लागि नागरिकले कार्यालय धाइरहनु पर्ने अवस्था अन्त्य गर्न ई–गभर्नेन्सलाई प्राथमिकता दिनुपर्छ। स्वास्थ्य र शिक्षामा गुणस्तर सुधार गर्दै स्थानीय तहसँग समन्वय बढाइयो भने राज्यको सेवा जनताको घरदैलोमै पुग्न सक्छ।

राजनीतिक संस्कार सुधार्नु पनि नयाँ सरकारको ठूलो जिम्मेवारी हो। सत्ता प्राप्त भएपछि पनि जनतासँग निरन्तर संवाद कायम राख्नु, विपक्षीसँग सहकार्य गर्दै राष्ट्रिय मुद्दामा सहमति खोज्नु र पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनु दीर्घकालीन राजनीतिक स्थिरताका लागि आवश्यक हुन्छ।

अन्ततः सरकार बनाउनु नै सफलता होइन, देशको प्रणाली सुधार्नु नै सबैभन्दा ठूलो उपलब्धि हो। यदि नयाँ सरकार यस दिशामा इमान्दार प्रयास गर्न सक्छ भने जनताले खोजेको परिवर्तनको अनुभूति वास्तवमै सम्भव हुन सक्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.