क्रिकेटखेल

पञ्जाबलाई पराजित गर्दै हैदराबाद आइपिएलको शीर्ष स्थानमा

भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबाद अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा पञ्जाब किंग्सलाई ३३ रनले पराजित गर्दै हैदराबाद अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । हैदराबादका लागि हेनरिक क्लासेनले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६९ रनको अर्धशतकीय पारी खेले भने इशान किशनले ३२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय इनिंङ खेले ।

त्यस्तै ट्रभिस हेडले ३८ रन जोड्दा अभिषेक शर्माले ३५ र नितिशकुमार रेड्डीले २९ रन बनाए । पञ्जाबका लागि अर्शदिप सिंह, लकि फर्गुसन, युजभेन्द्र चहल र विजयकुमार बैशकको भागमा समान एक-एक विकेट रह्यो । हैदराबादले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय २ रन मात्र बनाउन सक्यो ।

पञ्जाबका लागि कुपर कोनलीले ५९ बलमा ७ चौका र ८ छक्काको सहयोगमा अविजित रहँदै सर्वाधिक १ सय ७ रनको शतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मार्कस स्टोइनेसले २८ रन जोड्दा सुयौशं शेड्गेले २५ र मार्को यानसनले १९ रन बनाए । हैदराबादका लागि कप्तान प्याट कमिन्स र शिवान्ग कुमारले समान दुई-दुई विकेट लिए भने नितिश कुमार रेड्डी, इशान मालिङ्गा र साकिब हुसैनको भागमा समान एक-एक विकेट रह्यो ।

जितसँगै हैदराबाद ११ खेलमा १४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने १० खेलमा १३ अंक जोडेको पञ्जाब दोस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राति नेपाली समयनुसार पौने आठ बजे लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेङ्गलुर भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.