क्रिकेटखेल

आइसिसी विश्वकप लिग–२ : स्कटल्याण्डद्वारा नेपाल सामू जितको लागि २ सय ४४ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु त्रिकोणात्मक शृङ्खला अन्तर्गत पहिलो खेलमा स्कटल्याण्डले नेपाल सामू जितको लागि २ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जुटेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४३ रन बनायो । स्कटल्याण्डको लागि जर्ज मुन्सीले ६२ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ७५ रनको अर्धशतकीय पारी खेले भने फिनले म्याकक्रियाथले ३५ रन बनाए । त्यस्तै माइकल इंग्लिस ३४ रनमा अविजित रहँदा माइकल लिस्कले २९ र मार्क वाटले २४ रन बनाए ।

नेपालको लागि सन्दीप लामिछानेले चार विकेट लिए भने करण केसी र नन्दन यादवको भागमा समान दुई-दुई विकेट रह्यो । सिरिजमा नेपाल, स्कटल्याण्ड र अमेरिकाको सहभागिता रहेको छ । आज नेपाल घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्दै सिरिजमा सुखद सुरुवात गरे योजनामा रहेको छ भने उता स्कटल्याण्ड पनि नेपाललाई उसकै मैदानमा पराजित गर्ने सुरमा रहेको छ ।

यस सिरिजमा तीन देशले एक अर्काविरुद्ध समान दुई-दुई खेल खेल्नेछन् । नेपालले अघिल्लो साता घरेलु मैदानमै खेलेको सिरजमध्ये चार खेलमा तीन जित निकालेको थियो । आज पहिलो खेल खेल्न लागेको नेपालले जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्नेछ ।

आठ देश सहभागी लिग–२ मा २४ खेल केलेको नेपाल १८ अङ्कसहित सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको अमेरिकाले २४ खेलबाट ३६ अङ्क बनाएको छ । यस्तै दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २८ खेलबाट ३४ अङ्क छ ।

हेड टु हेड हेर्ने हो भने नेपाल र स्कटल्याण्डले १० एकदिवसीय खेल खेलेका छन् । जसमा नेपाल ५ खेलमा विजयी हुँदा ४ खेलमा स्कटल्याण्ड विजयी भएको छ ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, इशान पान्डे, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.