ट्रम्प–सी शिखर वार्ता : व्यापार सम्झौतादेखि होर्मुज जलडमरूसम्म सहकार्यको संकेत
दुई महाशक्ति राष्ट्र अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारयुद्धलाई मत्थर बनाउने प्रयाससँगै मध्यपूर्वको बढ्दो तनावमा चीनको समर्थन खोज्दै चीन भ्रमण गर्नुभयो ।
भ्रमणका क्रममा भएको द्विपक्षीय बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग “अत्यन्त उत्कृष्ट व्यापार सम्झौता” भएको बताउनुभएको छ ।
शुक्रबार सम्पन्न उच्चस्तरीय शिखर वार्ताको अन्तिम चरणमा ट्रम्पले चीनले होर्मुज जलडमरूमध्य खुला राख्न सहयोग गर्न इच्छुक रहेको संकेत दिएको दाबी गर्नुभयो ।
कृषि, उड्डयन, कृत्रिम बुद्धिमत्ता लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित ट्रम्प बेइजिङ पुग्नुभएको थियो । भ्रमणको अर्को प्रमुख उद्देश्य मध्यपूर्व युद्ध तथा अन्य संवेदनशील भू–राजनीतिक विषयमा अमेरिका–चीनबीच रहेका मतभेद कम गर्नु पनि रहेको बताइएको छ ।
ट्रम्पले सीलाई “महान नेता” र “मित्र” भन्दै मैत्रीपूर्ण सन्देश दिनुभएको थियो । यद्यपि चिनियाँ पक्ष भने सार्वजनिक रूपमा अपेक्षाकृत संयमित देखिएको थियो । त्यसका बाबजुद ट्रम्पले आफ्नो भ्रमण “अत्यन्त सफल” भएको प्रतिक्रिया दिनुभयो ।
बेइजिङस्थित निषेधित सहर (फरबिडेन सिटी) नजिक रहेको चिनियाँ नेतृत्वको केन्द्रीय परिसर झोङनानहाइको बगैंचामा सीसँग संयुक्त भ्रमणपछि ट्रम्पले भन्नुभयो, “हामीले दुवै देशका लागि अत्यन्त महत्वपूर्ण व्यापार सम्झौताहरू गरेका छौं । यस्ता धेरै समस्या समाधान भएका छन्, जुन अरू कसैले समाधान गर्न सक्दैनथे ।”
यद्यपि उहाँले सम्झौताका विस्तृत विवरण सार्वजनिक गर्नुभएन । राष्ट्रपति सीले भने ट्रम्पको भ्रमणलाई “ऐतिहासिक कोसेढुंगा”को संज्ञा दिँदै दुई देशबीच “रचनात्मक रणनीतिक स्थिरतामा आधारित नयाँ सम्बन्ध” स्थापित भएको बताउनुभयो । साथै उहाँले ह्वाइट हाउसको रोज गार्डेनका लागि गुलाफका बीउ उपहारस्वरूप पठाउने वाचा पनि गर्नुभएको थियो ।
होर्मुज जलडमरूमध्यमा चीनको सहयोग संकेत
शिखर वार्ताको पहिलो दिनपछि फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले चीनले अमेरिकाका केही प्रमुख चाहनामा सकारात्मक संकेत दिएको दाबी गर्नुभएको थियो ।
इरान युद्धको प्रसंग उल्लेख गर्दै उहाँले चीनले तेहरानलाई सैन्य सहयोग नगर्ने संकेत दिएको बताउनुभयो । इरानसँगको तनावका कारण विश्वकै महत्वपूर्ण समुद्री व्यापार मार्ग मानिने होर्मुज जलडमरूमध्य लगभग अवरुद्ध अवस्थामा पुगेको छ ।
ट्रम्पका अनुसार सीले स्पष्ट रूपमा “हामी सैन्य सामग्री उपलब्ध गराउने छैनौं” भन्ने सन्देश दिनुभएको थियो । साथै आवश्यक परे जलडमरूमध्य खुला राख्न सहयोग गर्न चीन तयार रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
यद्यपि चिनियाँ विदेश मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा इरानबारे “दीर्घकालीन र व्यापक युद्धविराम”को आवश्यकता औंल्याएको थियो । मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायको आग्रहअनुसार समुद्री व्यापार मार्गहरू शीघ्र पुनः सञ्चालन हुनुपर्नेमा जोड दिएको छ ।
ताइवानबारे चीनको कडा चेतावनी
वार्ताको समग्र वातावरण सौहार्दपूर्ण देखिए पनि ताइवानको विषयमा भने राष्ट्रपति सीले कडा चेतावनी दिनुभएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ताइवान मुद्दामा “गलत कदम चालिए दुई देश द्वन्द्वतर्फ धकेलिन सक्ने” चेतावनी उहाँले दिनुभएको हो ।
ट्रम्पले यस विषयमा सार्वजनिक प्रतिक्रिया नदिए पनि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ताइवानसम्बन्धी “अमेरिकी नीति यथावत् रहेको” स्पष्ट पार्नुभएको छ ।
बोइङ, तेल र सोयाबिन खरिदमा सहमति
ट्रम्पले व्यापार सम्झौताका सबै विवरण सार्वजनिक नगरे पनि फक्स न्यूजसँगको कुराकानीमा चीनले “२०० वटा ठूला” बोइङ विमान खरिद गर्न सहमति जनाएको बताउनुभयो ।
यद्यपि ट्रम्पको अभिव्यक्तिपछि बोइङको सेयर मूल्य घटेको थियो, जसलाई बजारले अपेक्षाभन्दा कम सम्झौताको संकेतका रूपमा लिएको विश्लेषण गरिएको छ ।
ट्रम्पका अनुसार चीनले अमेरिकी तेल र सोयाबिन खरिदमा पनि रुचि देखाएको छ । इरानी तेलको प्रमुख ग्राहक चीनले गत वर्ष अमेरिकाले कर वृद्धि गरेपछि अमेरिकी तेल खरिद घटाएको थियो । साथै चीनले अमेरिकी सोयाबिन आयात कम गर्दै ब्राजिलबाट आयात बढाएको थियो ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट का अनुसार ट्रम्प र सीबीच कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई व्यवस्थित गर्न साझा “सुरक्षात्मक मापदण्ड” निर्माण गर्ने विषयमा समेत छलफल भएको छ ।





प्रतिक्रिया राख्नुहोस्