अलपत्र चक्रपथको काम छिटो काम गराउन माग
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसद गणेश पराजुलीले चक्रपथको काम लामो समयदेखि अलपत्र भएकाले छिटो काम गराउन माग गर्नुभयो ।
सांसद गणेश पौडेलले रौतहट क्षेत्र नं ४ मा बाग्मतीको कटानले पुर्जा भएको जग्गाका धनी पनि सुकुमवासी भएको सुनाउँदै ऐलानी जग्गामा बसेकालाई स्थानीय तहले छोड भनी सूचना टाँस गरेर आतङ्कित बनाएको बताउनुभयो ।
सांसद खेमराज कोइरालाले पशुधन र पशु अधिकारको रक्षा गर्न आगामी वर्ष विशेष बजेट उपलब्ध गराउन माग गर्नुभयो । सांसद गणेश कार्कीले मोरङ क्षेत्र नं ३ को भूमि समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसद गणेश धिमालले पर्यटकीय स्थल सिम्रौनगढको विकासका लागि त्यहाँ जाने सडकको मुआब्जा दिएर अलपत्र रहेको सडक निर्माण पूरा गर्न माग गर्नुभयो ।
सांसद गणेशबहादुर विश्वकर्माले दासप्रथाको अवशेषका रुपमा रहेका हरुवाचरुवा आदिलाई १०० बुँदे कार्यक्रममा नराखिएकाले अहिले राजधानीमा आइपुगेको बताउनुभयो । उहाँले उनीहरुको समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल निर्माण गर्न माग गर्नुभयो । दार्चुलामा टावर जडानमा ढिलाइ भएकाले छिटो सञ्चार सेवा उपलब्ध गराउन उहाँले माग गर्नुभयो ।
सांसद गीता गुरुङले विद्यार्थी राजनीति अराजकता हो भने छानबिन सांसदहरुबाट नै सुरु गर्न र सत्तारूढ दलका नेतामाथि पनि उठेको प्रश्नको छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सांसद गीताकुमारी सेन्दाङले आगामी वर्षको बजेट भुइँमान्छेलाई पनि छुने गरी ल्याउनुपर्ने माग गर्नुभयो । सांसद गोपाल शर्माले मध्यपहाडी लोकमार्गको रुकुम पश्चिम क्षेत्रका केही पुल अलपत्र भएकाले समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद गोविन्द पन्थीले बेरोजगार युवा रोजगारीका लागि विदेश गएर काम गर्दा विभिन्न खालका असहज अवस्थामा पर्दा त्यहाँस्थित नेपाली राजदूतावास मुकदर्शक बनेको बताउनुभयो । वैदेशिक रोजगारीमा गएर पीडित भई कानुनबमोजिम तोकिएको रकम प्राप्त गर्न पीडितले कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गर्नुभयो ।
सांसद गङ्गा छन्त्यालले अपाङ्गता भएका दीपक भण्डारीले सामाजिक सञ्जालमार्फत इच्छा मृत्युको माग गरेकाले त्यस्तो किन आयो भनी छानबिन गरेर समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसद गङ्गादेवी श्रेष्ठले प्रधामन्त्रीले काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा राखेको ग्रेटर नेपालको नक्सा कता गयो भनी प्रश्न गर्नुभएको थियो ।
मुस्ताङको युरेनियम खानी कसैलाई दिएको भनी सार्वजनिक भएकाले के हो भनी त्यसको वास्तविकता जनसमक्ष ल्याउनुपर्नेमा जोड दिनुभयो । सरकारमा रहेका मन्त्रीहरुले सार्वजनिक गर्नुभएको सम्पत्तिमा उल्लेख गरिएका सुनको बिल सार्वजनिक गर्न पनि सांसद श्रेष्ठले माग गर्नुभएको थियो ।
सांसद चन्दनकुमार सिंहले कृषि प्रधान देश भनिए पनि किसान सिँचाइ, मल र बीउबाट पीडित भएको, खेतीमा भविष्य नदेखेर युवा विदेशिएकाले कृषिमा आवश्यक व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद कमल सुवेदीले दाङको टरिगाउँ विमानस्थल उपेक्षामा परेको बताउनुहुँदै त्यस क्षेत्रका सडक पनि दयनीय अवस्थामा रहेर दुर्घटना बढेकाले सडक बनाउन पर्याप्त बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद कुलभक्त शाक्यले काठमाडौँको सामाखुसी, रानीबारी क्षेत्रमा चार मिटरको मापदण्डका नाममा सरकारले डोजर लगाएर हटाउन खोजेकाले ज्येष्ठ नागरिकको पनि बिचल्ली भएको बताउँदै भूमिहीन सुकुमवासीका समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।
सांसद ऐनबहादुर महरले बझाङका भुवन बोहरा नवलपरासीमा दुर्घटनामा परी निधन भएकाले सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकता दिने किसिमको व्यवस्था गर्न माग गर्नुभयो ।





प्रतिक्रिया राख्नुहोस्