क्रिकेटखेल

स्कटल्याण्डलाई पराजित गर्दै नेपाल अंक तालिकाको पाँचौं स्थानमा उक्लियो

स्कटल्याण्ड ६ विकेटले पराजित

आइसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।जितसंगै नेपाल अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड ३९ दशमलव १ ओभरमा १ सय ९४ रनमा समेटिएको थियो । स्कटल्याण्डको लागि ब्रान्डन म्याकमुलेनले ४४४ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७३ रनको अर्धशतकीय पारी खेले भने माइकल इंग्लिसले ७२ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५१ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै जर्ज मुन्सीले २१, मार्क वाटले २० र रिची बेरिङ्टनले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालको लागि ललित नारायण राजवंशीले चार विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवको भागमा समान एक-एक विकेट रह्यो ।

स्कटल्याण्डले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ३८ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पूर्या गर्यो । नेपालको लागि कप्तान रोहित पौडेलले ९८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय पारी खेले भने इशान पाण्डेले ६१ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५५ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै आसिफ शेखले २९ रन जोड्दा कुशल भुर्तेलले २८ र आरिफ शेख ८ रनमा अविजित रहे । स्कटल्याण्डका लागि मार्क वाटले दुई विकेट लिए भने तथा ब्राण्डन म्याकमुलनको भागमा एक विकेट रह्यो ।

त्यस्तै नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् । योसंगै उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन् ।

काठमाडौँमा जारी आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्डसँग जारी खेलमा ब्राण्डन म्याकमुलनको विकेट लिएसँगै उनले ओडिआई करियरमा आफ्नो १५० विकेट पूरा गरेका हुन् । सन्दीपले ७३ खेलमा यो कीर्तिमान कायम गर्दा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले ७७ खेल खेल्दै १५० विकेट लिएका थिए ।

यसैगरी लामो समयपछि ललित लयमा फर्किएका छन् भने रोहितले ७ महिना पछि आठौं एकदिवसीय इनिङ्स पछि ५० माथिको स्कोर गरेका छन् ।

नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म चार खेल सकिएका छन् । जसमध्ये नेपाल र स्कटल्याण्डले समान दुई-दुई खेलमा जित निकाल्दा अमेरिका भने दुवै खेलमा पराजित भएको छ ।

स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लुइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

यस्तै तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । स्कटल्याण्डलाई पराजित गर्दै नेपालको विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राखेको छ ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल पाँचौं स्थानमा उक्लिएको छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ९ १० वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ ।

नेपाल २७ खेलपछि १० मा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २२ अङ्कका साथ तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । साथै स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३१ खेलमध्ये १६ मा जित, नौमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.