पूर्वराष्ट्रपति भण्डारीलाई एमाले सदस्यता दिने निर्णय
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ । यसअघि भण्डारीलाई सदस्यता दिन नमिल्ने निर्णय गरेको थियो ।
सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली को अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित निजी निवासमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने विषयलाई बैठकको महत्त्वपूर्ण निर्णयका रूपमा उल्लेख गर्नुभयो ।
उहाँले एमाले सचिवालयको अर्को बैठक आगामी जेठ ८ गते बिहान साढे ११ बजे गुण्डुमा बस्ने जानकारी पनि दिनुभयो । बैठकमा एमाले महासचिव शङ्कर पोखरेल ले विभिन्न १० वटा एजेन्डा प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत एजेन्डामा पदाधिकारीहरूको वरियताक्रम निर्धारणसम्बन्धी प्रस्ताव, आम निर्वाचन २०८२ पछि गठित सरकारका कामकारबाहीको समीक्षा, सदस्यता नवीकरण तथा विस्तार अभियान, पदाधिकारी एवं सदस्यहरूको कार्यविभाजन तथा संविधान संशोधन सुझाव कार्यदल गठनलगायतका विषय समावेश छन् ।
यसैगरी निर्वाचन समीक्षा प्रतिवेदन तयार गर्न कार्यदल गठन, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय व्यवस्थापन, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन तथा सङ्गठन विभागका कामलाई तीव्रता दिने विषयमा पनि छलफल भएको जनाइएको छ ।





प्रतिक्रिया राख्नुहोस्