क्रिकेटखेल

गुजरातलाई हराउँदै बेंगलुरुले जित्यो आइपिएलको उपाधि

भारतमा सम्पन्न इन्डियन प्रिमियर लिग(आइपिएल) २०२६ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ । आइतबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । गुजरातका लागि वासिङ्टन सुन्दरले ३७ बलमा ५ चौकाको सहयोगमा अविजित रहँदै सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले भने निशान्त सिन्धुले २० रन बनाए ।

त्यस्तै जोस बटलरले १९ रन जोड्दा अर्शद खानले १५, कप्तान शुभमन गिलले १० र साई सुदर्सनले १२ रन बनाए । बेंगलुरुका लागि रसिक सलामले तीन विकेट लिए भने जोस हेजलवुड र भुवनेश्वर कुमारले समान दुई-दुई विकेट लिँदा कुर्नाल पाण्ड्याको भागमा एक विकेट रह्यो । गुजरातले दिएको १ सय ५६ रनको लक्ष्य बेंगलुरुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

बेंगलुरुका लागि विराट कोहलीले ४२ बलमा ९ चौका र ३ छक्काको सहयोगमा अविजित रहँदै ७५ रनको अर्धशतकीय इनिङ खेले भने वेङ्कटेस अय्यरले १६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाए । यस्तै टिम डेविडले २४ रन जोड्दा कप्तान रजत पाटीदारले १५ रन बनाए । गुजरातका लागि रशिद खानले दुई विकेट लिए भने कागिसो रवडा, मोहम्मद सिराज र अर्शद खानको भागमा समान एक-एक विकेट रह्यो ।

बेंगलुरुले पहिलो क्वालिफायरमा गुजरातलाई नै पराजित गरि फाइनल पुगेको तियो भने गुजरात दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई पराजित गर्दै उपाधि नजिक पुगेको थियो । योसंगै बेंगलुरु दोस्रो पटक च्याम्पियन भएको छ ।

बेंगलुरुले गत संस्करणको फाइनलमा पन्जाब किङ्सलाई हराउँदै पहिलोपटक आइपिएलको उपाधि जितेको थियो । बेंगलुरु आइपिएलमा लगातार दुई उपाधि जित्ने तेस्रो टोली बनेको छ । यसअघि चेन्नई सुपर किङ्सले सन् २०१० र २०११ तथा मुम्बई इन्डियन्सले सन् २०१९ र २०२० मा लगातार उपाधि जितेका थिए ।

यता गुजरातले भने सन् २०२२ को संस्करणको आइपिएलमा पहिलो पटकको सहभागीतामा नै उपाधि जित्दा सन् २०२३ को संस्करणमा पनि फाइनलमा पुगेको थियो । हालसम्म चेन्नई र मुम्बईले समान ५-५ पटक आइपिएलको उपाधि जित्दा कोलकाता नाइट राइडर्सले ३ पटक तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले समान एक-एक पटक उपाधि जितेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.