शान्तिको कामनासहित किभ र क्योटोबीच अनलाइन सांगीतिक प्रस्तुति
रूस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गरिरहेका बेला युक्रेनको राजधानी किभ र जापानको ऐतिहासिक सहर क्योटोका नागरिकहरूले शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले अनलाइन सांगीतिक कार्यक्रम प्र्रस्तुत गरेका छन्।
युद्धका कारण प्रभावित युक्रेनी नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आयोजित उक्त कार्यक्रमले दुई देशबीचको मानवीय तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको छ। आइतबार सम्पन्न कार्यक्रममा भगिनी सहर (स्टर सिटी) रहेका किभ र क्योटोलाई अनलाइन माध्यमबाट जोडिएको थियो।
रूसको आक्रमणका कारण कठिन परिस्थितिमा रहेका युक्रेनी नागरिकलाई हौसला प्रदान गर्ने उद्देश्यले क्योटोका बासिन्दाहरूबाट गठित एक कोरस समूहले कार्यक्रमको आयोजना गरेको हो।किभस्थित कार्यक्रममा ५० भन्दा बढी सहभागी भएका थिए, जसमध्ये अधिकांश स्थानीय गायन समूहका सदस्य थिए।
युक्रेनको परम्परागत पोसाकमा सजिएका सहभागीहरूले जापानी चर्चित गीत “मियागेते गोरान योरु नो होशी ओ” -रातका ताराहरूलाई हेर्नुहोस्) प्रस्तुत गरेका थिए। त्यसै गरी, किभस्थित युक्रेन–जापान केन्द्रमा जापानी भाषा अध्ययनरत बालबालिकाले जापानी बालगीत गाएर सांस्कृतिक आत्मीयता प्रकट गरेका थिए।
उता क्योटोमा सहभागीहरूले युक्रेनको शान्ति र स्थायित्वको कामना गर्दै किभप्रतिको गहिरो प्रेम झल्काउने युक्रेनी गीतहरू प्रस्तुत गरेका थिए। किभका सहभागीहरूले पनि ती गीतमा स्वर मिलाएका थिए।
कार्यक्रमकी एक युक्रेनी आयोजकले युद्ध अन्त्यको अपेक्षा सम्पूर्ण नागरिकको साझा चाहना भएको बताइन्। कठिन परिस्थितिमा युक्रेनी जनताको साथमा उभिएकोमा जापानी नागरिकप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै उनले भविष्यमा युक्रेनीहरूले पनि जापानप्रति यस्तै सद्भाव र सहयोग प्रकट गर्न चाहेको उल्लेख गरिन्।
सन् २०२२ मा रूसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता लाखौँ नागरिक विस्थापित भएका छन् भने युक्रेनले निरन्तर मानवीय, आर्थिक र सुरक्षा चुनौती सामना गरिरहेको छ।
यस्तो अवस्थामा सांस्कृतिक आदानप्रदान र जनस्तरको ऐक्यबद्धताले युद्धपीडित समुदायमा मनोवैज्ञानिक ऊर्जा र अन्तर्राष्ट्रिय समर्थनको अनुभूति दिलाउने महत्वपूर्ण माध्यमका रूपमा काम गरिरहेका छन्।
जापानले युक्रेनलाई मानवीय सहायता, पुनर्निर्माण सहयोग तथा कूटनीतिक समर्थन प्रदान गर्दै आएको छ। यद्यपि जापान प्रत्यक्ष सैन्य भूमिकामा छैन, उसले अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थाको संरक्षण र युक्रेनको सार्वभौमिकताको समर्थनमा स्पष्ट अडान लिँदै आएको छ।
किभ–क्योटोबीचको यो सांगीतिक कार्यक्रम केवल सांस्कृतिक प्रस्तुति मात्र नभई युद्धको विभीषिकाबीच मानवता, मित्रता र शान्तिको साझा आकांक्षाको प्रतीकका रूपमा समेत हेरिएको छ।
यसले जापान–युक्रेन सम्बन्धलाई जनस्तरमा थप निकट बनाउनुका साथै भविष्यमा द्विपक्षीय सांस्कृतिक तथा मानवीय सहकार्य विस्तार हुने सम्भावनालाई पनि बलियो बनाएको छ।




प्रतिक्रिया राख्नुहोस्