‘पुराना काण्डको फाइल खोल्ने’ चेतावनीपछि अर्थमन्त्री डा. वाग्लेमाथि अनुसन्धान माग
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुलले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुमै बोल्दै पुनले बजेट निर्माण प्रक्रियामा भएको भनिएको करका दर हेरफेर प्रकरणमा अर्थमन्त्री वाग्लेको भूमिकामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभएको हो ।
पुनले अर्थमन्त्री वाग्लेले “पुराना दलका सरकारले ६७ वटा करका दर हेरफेर गरेका थिए, मैले सात वटामात्र परिवर्तन गरेको हुू” भन्ने आशयको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यस्तो अभिव्यक्तिले संसदको गरिमा र भूमिकालाई नै अवमूल्यन गरेको दाबी गर्नुभयो ।
सांसद पुनले करका दर परिवर्तनसम्बन्धी विषय उठाउने सांसदहरूलाई अर्थमन्त्रीले विगतका विभिन्न काण्डका फाइल खोल्ने चेतावनी दिएको आरोप लगाउँदै त्यसलाई अनुचित र आपत्तिजनक व्यवहारको संज्ञा दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सुरुमा हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएका थियौँ। तर पछिल्ला घटनाक्रमले उहाँको भूमिकामाथि नै प्रश्न उठाएको छ । संसदलाई दबाब दिने वा धम्क्याउने कुनै पनि प्रयास स्वीकार्य हुन सक्दैन।’
पुनले यही विषय सार्वजनिक लेखा समितिको बैठकमा समेत उठाएको जानकारी दिँदै अर्थमन्त्रीको अभिव्यक्तिले संसदलाई हेप्ने र दबाब दिने प्रयास भएको टिप्पणी गर्दै आफू पनि अर्थमन्त्री भैसकेको हुँदा छानबिन आफूबाट सुरु गर्न पनि माग गर्नुभयो ।
पुनले अर्थमन्त्री स्वयंले सात वटा करका दर परिवर्तन गरिएको स्वीकार गरिसकेको उल्लेख गर्दै भन्नुभयो, ‘सात वटा होस् वा ७३ वटा, यदि प्रक्रिया मिचेर गरिएको हो भने त्यो गम्भीर विषय हो । मेरो कार्यकालको पनि छानबिन होस्, अहिलेको घटनाको पनि छानबिन होस्।’
सांसद पुनले विगतमा सांसद रहेकाहरूलाई समावेश नगरी यसपटक निर्वाचित नयाँ सांसदहरू मात्र रहने गरी संसदीय छानबिन समिति गठन गर्न प्रस्ताव गर्दै २० लाख रुपैयाँभन्दा माथिका सवारीसाधनमा कसलाई र किन कर छुट दिइयो भन्ने विषयसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्