आरुबारीमा युवाको जागरण- शान्ति सुरक्षादेखि खानेपानीसम्म समाधान खोज्दै
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ आरुबारीका जागरुक युवाहरू स्थानीय शान्ति सुरक्षा सुदृढ पार्न र खानेपानीको समस्या समाधान गर्न सक्रिय भएका छन्।
यस उद्देश्यका साथ युवाहरूले वडा कार्यालयसँग वृहत् छलफल गरी आवश्यक पहल अघि बढाउने निर्णय गरेका छन्। वडा अध्यक्ष राजिब थापाको अध्यक्षतामा असार ३ गते बुधबार आयोजित छलफलले स्थानीय समस्याको तत्काल समाधानका लागि समन्वयात्मक पहल गर्ने निष्कर्ष निकालेको हो।
छलफलमा आरुबारी, त्रिवेणी चोक तथा नेपाल मेडिकल कलेज आसपासका क्षेत्रमा बढ्दो दुर्व्यसन, मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण, कुटपिटलगायतका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै स्थानीयवासीको सुरक्षालाई ध्यानमा राख्दै ती क्षेत्रमा तत्काल प्रहरीको उपस्थिति बढाउन आवश्यक पहल गरिने निर्णय गरिएको छ।

विशेष गरी मध्यरातसम्म मोटरसाइकल पड्काउँदै हिँड्ने तथा लागूपदार्थ सेवन गर्नेहरूको गतिविधि बढेसँगै सामाजिक असुरक्षा र हिंसात्मक घटना बढ्न थालेकाले प्रहरी बिट स्थापनाको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले विगतमा निर्णय भइसकेको आरुबारी क्षेत्रमा प्रहरी बिट स्थापना गरी दीर्घकालीन रूपमा काठमाडौं महानगरपालिका–६ र गोकर्णेश्वर नगरपालिका–९ को सीमास्थित त्रिवेणी चोकमा प्रहरी प्रभाग स्थापना गर्न आवश्यक पहल गरिने भएको छ। यसका लागि सुरज ढुंगाना, रोशन खड्कालगायतका युवाहरूलाई समन्वयको जिम्मेवारी दिइएको छ।
बैठकले खानेपानीको समस्यालाई पनि प्राथमिकतामा राखेको छ। काठमाडौं उपत्यकामा वितरण हुने मेलम्ची खानेपानीको मुख्य ट्यांकी आरुबारीमै रहे पनि स्थानीय बासिन्दा अझै पर्याप्त खानेपानी सुविधाबाट वञ्चित रहेको विषय उठाइएको थियो।

पानी वितरणका लागि आरुबारीमा निर्माणाधीन ओभरहेड ट्यांकी लामो समयदेखि अलपत्र परेकाले यसको निर्माण कार्य तत्काल अघि बढाउन वडा कार्यालयले सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय गरेको छ।
स्थानीय समस्याको समाधानका लागि युवा, जनप्रतिनिधि र समुदायबीचको सहकार्यले आरुबारीलाई सुरक्षित र सुविधासम्पन्न क्षेत्र बनाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्