अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले नेपाली पुटबललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यो निर्णयसँगै दक्षिण एसियामै कमजोर बन्दैगएको नेपाली फुटबल थप अन्योल र संकटमा फसेको छ ।
फिफाले बिहिबार आफ्नो वेबसाइटमार्फत ब्युरो अफ द काउन्सिलको निर्णयअनुसार तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै नेपाललाई प्रतिबन्ध लगाइएको जनाएको छ । फिफाले नेपालमाथि प्रतिबन्ध लगाएको यो पहिलोपटक हो ।
यसअघि राष्ट्रिय खेलकुद परिषद् -राखेप)ले पनि अखिल नेपाल फुटबल सङ्घ -एन्फा)लाई तीन महिनाका लागि निलम्बन गरेको थियो । परिषद्ले एन्फाको प्रस्तावित निर्वाचनलाई मान्यता नदिएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो । पंकज नेम्वाङ नेतृत्वको वर्तमान कार्यसमितिको कार्यकालसमेत समाप्त भइसकेको छ ।
प्रतिबन्धको यो अवस्था नेपाली फुटबल वर्षौंदेखि भोग्दै आएको संस्थागत अस्थिरताको परिणामका रूपमा हेरिएको छ । खेलाडी उत्पादन, घरेलु प्रतियोगिता सञ्चालन र पूर्वाधार विकासभन्दा एन्फाका पदाधिकारीहरू आफ्नै स्वार्थपूर्तिमा बढी केन्द्रित भएको आरोप लामो समयदेखि लाग्दै आएको छ ।
एन्फाभित्रको गुटबन्दी, शक्ति संघर्ष र नेतृत्व विवादले नेपाली फुटबललाई निरन्तर कमजोर बनाएको छ। एकातिर खेलाडीहरूले न्यून पारिश्रमिकमा खेल्न बाध्य हुनुपरेको छ भने अर्कोतर्फ एन्फाका पदाधिकारीहरूले लाखौँ रुपैयाँ पारिश्रमिक र विभिन्न सुविधा लिने गरेको भन्दै आलोचना हुँदै आएको छ ।
खेलाडीको भविष्य सुरक्षित गर्ने, उनीहरूलाई विदेश पलायन हुनबाट रोक्ने र व्यावसायिक वातावरण निर्माण गर्ने दायित्व नेतृत्वले पूरा गर्न नसकेको गुनासो खेलकर्मीहरूबाट निरन्तर उठ्दै आएको छ ।
विगत केही वर्षदेखि नियमित रूपमा राष्ट्रिय लिग सञ्चालन हुन सकेको छैन । शहीद स्मारक ‘ए’ डिभिजन लिगसमेत अनियमित बन्दै गएको छ ।
घरेलु प्रतियोगिताको अभावले खेलाडीको प्रदर्शन, राष्ट्रिय टोलीको तयारी तथा नयाँ प्रतिभा उत्पादनमा प्रतिकूल असर परेको छ । परिणामस्वरूप नेपाली फुटबलको स्तर निरन्तर ओरालो लागिरहेको छ ।
फिफाको प्रतिबन्धले नेपाली फुटबलमा गम्भीर असर पार्ने देखिएको छ । प्रतिबन्ध कायम रहँदासम्म नेपाली राष्ट्रिय टोली तथा क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।
फिफा र एसियाली फुटबल महासंघ (एएफसी)बाट प्राप्त हुने आर्थिक तथा प्राविधिक सहयोगसमेत रोकिनेछ । अन्तर्राष्ट्रिय प्रशिक्षण, विकास कार्यक्रम र रेफ्री तथा प्रशिक्षकका अवसरहरू प्रभावित हुनेछन् । यसले नेपाली फुटबलको विकास प्रक्रिया अझै पछि धकेल्ने खेलकर्मीहरूको चिन्ता छ ।
खेल क्षेत्रका जानकारहरू नेपाली फुटबललाई थप संकटबाट जोगाउन एन्फाभित्रको विवाद अन्त्य गरी पारदर्शी, जवाफदेही र खेलकेन्द्रित नेतृत्व स्थापना गर्नुपर्नेमा जोड दिन्छन् ।
अन्यथा, लामो समयदेखि ओरालो लागेको नेपाली फुटबल फिफा प्रतिबन्धपछि झन् गम्भीर संकटमा फस्ने उनीहरूको चेतावनी छ।




प्रतिक्रिया राख्नुहोस्