बिशेषराजनीति

कक्षा १२ को नतिजा प्रक्रियाबारे उठेका जिज्ञासा र प्रश्नहरूको परीक्षण गर्न समिति गठन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विभिन्न स्थानमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्न थालेपछि शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दा कुनै हतार नगरेको स्पष्ट पार्दै नतिजा प्रक्रियाबारे उठेका जिज्ञासा र प्रश्नहरूको परीक्षण गर्न समिति गठन गरेको जानकारी दिनुभएको छ ।

मन्त्री पोखरेलले आज बिहिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आवश्यक जनशक्ति थप तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याइएकाले नतिजा निर्धारित समयमै सार्वजनिक गर्न सम्भव भएको बताउँदै सो कुराको जानकारी दिनुभएको हो ।

“राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा सार्वजनिक हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो,” मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ ।

नतिजा प्रक्रियाबारे उठेका जिज्ञासा र प्रश्नहरूको निष्पक्ष परीक्षण गर्न शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो।

उक्त समितिले उत्तरपुस्तिकाको नमुना परीक्षण गर्नुका साथै प्राप्ताङ्क र तथ्याङ्क प्रविष्टिको समेत रुजु गर्नेछ। कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै केही विद्यार्थीहरू सडकमा उत्रिएका छन् भने सामाजिक सञ्जालमार्फत पनि नतिजा पुनरावलोकन र छानबिनको माग भइरहेको छ।

यसै सन्दर्भमा मन्त्री पोखरेलले नतिजासम्बन्धी विषयमा शान्तिपूर्ण रूपमा भइरहेका आन्दोलनप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक समाजमा नागरिकले आफ्ना धारणा राख्न पाउने अधिकारको सम्मान हुनुपर्ने बताउनुभयो।

उहाँले आन्दोलनरत विद्यार्थी वा कुनै पनि समूहप्रति गालीगलौज, दुर्व्यवहार तथा अपमानजनक टिप्पणी नगर्न सबैमा आग्रह गर्नुभएको छ।

कक्षा १२ नतिजा छिटो सार्वजनिक भएको विरोधमा विद्यार्थीहरु उत्रिए सडकमा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.