सुकी जीवित रहेको प्रमाण सार्वजनिक गर्न माग
म्यान्माकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारसँग आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न माग गर्नुभएको छ।
अप्रिल महिनामा सुकीलाई नजरबन्दबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दाबीप्रति गम्भीर शङ्का व्यक्त गर्दै उहाँले सुकी अझै पनि राजधानी नेपिटोस्थित जेलमै रहेको विश्वास व्यक्त गर्नुभएको छ।
लन्डनमा जापानी समाचार संस्था क्योदो न्युजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट अन्यत्र सारिएको भन्ने सैन्य सरकारको दाबी पुष्टि गर्ने कुनै विश्वसनीय प्रमाण हालसम्म सार्वजनिक नभएको बताउनुभयो। उहाँका अनुसार आफ्नी आमाको अवस्थाबारे बाहिर आएको एकमात्र जानकारी उहाँको स्वास्थ्य अवस्था निरन्तर खस्कँदै गएको भन्ने हो।
एरिसले सुकी मुटुसम्बन्धी समस्यासँगै उमेरका कारण हड्डी कमजोर हुने रोगबाट पनि पीडित रहेको जानकारी दिनुभयो। जेलमा बसिसकेका एक पूर्व कैदीबाट प्राप्त विवरणका आधारमा सुकी राखिएको स्थानको अवस्था अत्यन्त कठिन र चिन्ताजनक रहेको उहाँले बताउनुभयो।
सन् १९९१ की नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई सन् २०२१ फेब्रुअरीमा म्यान्मा सेनाले सत्ता कब्जा गरेपछि हिरासतमा राखिएको थियो। लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि उहाँमाथि विभिन्न अभियोग लगाएर कैद गरिएको थियो।
एरिसका अनुसार आफ्नी आमासँगको अन्तिम प्रत्यक्ष सम्पर्क दुई वर्षअघि प्राप्त एउटा पत्रमार्फत भएको थियो। लन्डनमा जन्मिएर हुर्कनुभएका उहाँ बाल्यकालमा आमाबुबासँगै बस्नुभएको थियो। तर, सुकी म्यान्मा फर्किएर प्रजातन्त्र आन्दोलनमा सक्रिय भएपछि उहाँ बेलायतमै बस्नुभएको थियो।
सन् १९८९ देखि २०१० सम्म सुकीले विभिन्न अवधिमा करिब १५ वर्ष नजरबन्दमा बिताउनुभएको थियो। उहाँको पार्टी नेसनल लिग फर डेमोक्रेसीले निर्वाचनमा ठूलो सफलता हासिल गरेपछि सन् २०१६ मा उहाँ म्यान्माको वास्तविक राजनीतिक नेतृत्वमा पुग्नुभएको थियो। तर, सन् २०२१ को सैन्य ‘कू’पछि उहाँ पुनः हिरासतमा पर्नुभयो।
एरिसले आफू सार्वजनिक जीवनमा आउन नचाहे पनि आमाको पक्षमा बोल्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो। हालै सुकीको ८०औँ जन्मदिनका अवसरमा उहाँले ८० किलोमिटर स्केटबोर्ड यात्रा पूरा गर्दै विश्व समुदायको ध्यानाकर्षण गर्ने प्रयास गर्नुभएको थियो।
विभिन्न देशमा पुगेर आफ्नी आमाको रिहाइका लागि पहल गर्दै आउनुभएका एरिसले म्यान्माको सैन्य नेतृत्वमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन विश्व समुदायसँग आग्रह गर्नुभएको छ।
म्यान्मामा गृहयुद्ध चर्किँदै गएको अवस्थामा सेनालाई उड्डयन इन्धनको आपूर्ति रोक्नुपर्नेमा जोड दिँदै उहाँले यही कदमले सैन्य प्रशासनमाथि प्रभावकारी दबाब सिर्जना गर्न सक्ने बताउनुभएको छ।




प्रतिक्रिया राख्नुहोस्