विश्वकपको अन्तिम १६ चरणमा नर्वेसँग २–१ गोलले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको स्पष्ट सङ्केत गर्नुभएको छ। प्रतियोगिताबाट बाहिरिएलगत्तै उहाँले आफ्नो राष्ट्रिय टोलीको यात्रा समाप्त भएको भाव व्यक्त गर्नुभएको हो।
अमेरिकाको मेटलाइफ स्टेडियममा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएका ३४ वर्षीय नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत ब्राजिलका लागि एक गोल फर्काउनुभएको थियो। तर नर्वेका अर्लिङ हालान्डको दुई गोलका कारण ब्राजिलको पुनरागमन सम्भव भएन र टोली प्रतियोगिताबाट बाहिरियो।
खेलपछि ब्राजिलको ग्लोबो एस्पोर्टेसँग कुरा गर्दै भावुक देखिनुभएका नेयमारले भन्नुभयो, “मैले धेरै प्रयास गरेँ। अब यो समाप्त भयो। मेरो यात्रा यहीँबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो।” अन्तिम सिटी बज्नासाथ उहाँ आँसु झार्दै मैदानमै भावुक बन्नुभएको थियो भने सहकर्मी खेलाडीहरूले उहाँलाई सान्त्वना दिएका थिए।
नेयमारको यो अभिव्यक्तिले एउटा दुर्लभ संयोगलाई पनि उजागर गरेको छ। उहाँले १० अगस्ट २०१० मा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलमार्फत यही मेटलाइफ स्टेडियमबाट ब्राजिलको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको थियो।
त्यही खेलमा उहाँले पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै ब्राजिललाई २–० को जित दिलाउनुभएको थियो। झन्डै १६ वर्षपछि सम्भावित अन्तिम अन्तर्राष्ट्रिय खेल पनि त्यही रंगशालामा खेल्दै उहाँले राष्ट्रिय टोलीबाट बिदाइको सङ्केत गर्नुभएको हो।
ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारले राष्ट्रिय टोलीबाट १३३ खेलमा ८० गोल गर्दै महान् फुटबलर पेलेको ७७ गोलको कीर्तिमानलाई पछि पार्नुभएको छ। उहाँले ब्राजिलका लागि दुई दशकभन्दा लामो अवधिमा तीन विश्वकप र विभिन्न महादेशीय प्रतियोगिता खेल्नुभएको छ।
अन्तर्राष्ट्रिय करियरमा नेयमारले २०१३ को फिफा कन्फेडेरेसन कपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। त्यस प्रतियोगितामा उहाँ उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो।
यद्यपि विश्वकप र कोपा अमेरिकाको उपाधि जित्ने सपना भने उहाँका लागि अधुरै रह्यो। ब्राजिलले २०२१ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिनासँग पराजय बेहोर्दा उहाँ उपविजेतामै सीमित हुनुभएको थियो।
पछिल्ला केही वर्ष चोटपटकका कारण निरन्तर समस्यामा पर्नुभएका पूर्व बार्सिलोना र पेरिस सेन्ट-जर्मेनका स्टार खेलाडी हाल आफ्नो पुरानो क्लब सान्तोसबाट खेलिरहनुभएको छ। चोटकै कारण उहाँले विश्वकपका प्रारम्भिक दुई समूह चरणका खेल गुमाउनुभएको थियो।
त्यसपछि स्कटल्यान्डविरुद्ध मैदान फर्कनुभएका उहाँको प्रतियोगितामा दोस्रो तथा सम्भावित अन्तिम अन्तर्राष्ट्रिय उपस्थिति नर्वेविरुद्ध रह्यो। अक्टोबर २०२३ यता राष्ट्रिय टोलीमा उहाँको यो पहिलो पुनरागमन पनि थियो।
यद्यपि नेयमारले औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसक्नुभएको छैन, तर प्रतियोगितापछि व्यक्त गर्नुभएको भावनात्मक अभिव्यक्तिलाई ब्राजिलियन फुटबल इतिहासका एक स्वर्णिम अध्यायको अन्त्यको सङ्केतका रूपमा हेरिएको छ।




प्रतिक्रिया राख्नुहोस्