जापानमा श्रीकृष्ण जन्माष्टमी विशेष धार्मिक कार्यक्रम गर्दै बलेवा सेवा समाज
बलेवा सेवा समाज जापानको २०२५–२०२७ कार्यकाल अन्तर्गत चौथो नियमित औपचारिक बैठक सम्पन्न भएको छ। बैठकले आगामी सेप्टेम्बर ४ मा श्रीकृष्ण जन्माष्टमी विशेष धार्मिक प्रवचन तथा भजन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
संस्थाका अध्यक्ष सुरेन्द्र पौडेल ‘प्रेम’को सभापतित्वमा टोकियोस्थित एशियन रेस्टुरेन्ट साकुरा (किता–सेन्जु) मा सम्पन्न बैठकको सञ्चालन महासचिव रोशन चापागाईँले गर्नुभएको थियो।
बैठकमा संरक्षक महेन्द्र पीसी, सेवक पीसी, महेन्द्र ढकाल, सल्लाहकार शेषकान्त रिजाल, दीप पाठक, दीपक पौडेललगायत पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकमा संस्थाको भावी कार्यदिशा, संगठन सुदृढीकरण, सामाजिक उत्तरदायित्व तथा आगामी कार्यक्रमका विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले संस्थालाई जापानस्थित नेपाली समुदायमाझ अझ प्रभावकारी, सक्रिय र समुदायमुखी बनाउने विषयमा आ–आफ्ना सुझाव तथा धारणा राख्नुभएको थियो।
बैठकले भगवान् श्रीकृष्णको जन्मोत्सव श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ मनाउँदै उहाँले प्रतिपादन गर्नुभएको धर्म, सत्य, कर्म र मानवताको सन्देश नेपाली समुदायमा प्रवाह गर्ने तथा धार्मिक, सांस्कृतिक र सामाजिक एकतालाई थप सुदृढ बनाउने उद्देश्यले २०२६ सेप्टेम्बर ४ (शुक्रबार) शिन–ओकुबोस्थित सोलमारी रेस्टुरेन्टमा श्रीकृष्ण जन्माष्टमी विशेष धार्मिक प्रवचन तथा भजन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जनाएको छ। कार्यक्रममा बलेवाली गुरु गणेश पौडेलको विशेष उपस्थिति रहने जनाइएको छ।
कार्यक्रमलाई भव्य, व्यवस्थित र सफल बनाउन संस्थाले विभिन्न उपसमिति गठन गरेको छ। मूल व्यवस्थापन समितिको संयोजकमा सल्लाहकार दीप पाठक तथा उपसंयोजकमा संरक्षक सेवक पीसीलाई जिम्मेवारी दिइएको छ।
त्यसै गरी आर्थिक व्यवस्थापन समितिको संयोजकमा अध्यक्ष सुरेन्द्र पौडेल ‘प्रेम’, अतिथि सत्कार समितिको संयोजकमा राजु के.सी., भजन व्यवस्थापन समितिको संयोजकमा यमप्रसाद पौडेल ‘गरिब गाउँले’, पूजा व्यवस्थापन समितिको संयोजकमा श्रद्धा पी.सी., स्वयंसेवक समितिको संयोजकमा विकास के.सी. तथा उपसंयोजकमा राजेश रिजाल ‘इन्द्र’ र प्रचार–प्रसार समितिको संयोजकमा अर्जुन लामिछानेलाई जिम्मेवारी प्रदान गरिएको छ।
बैठकमा अध्यक्ष सुरेन्द्र पौडेल ‘प्रेम’ले बलेवा सेवा समाज जापानलाई २०२६ जुलाई ६ मा नेपाली राजदूतावास, टोकियोका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलसमक्ष आवश्यक कागजात पेस गरी विधिवत् रूपमा सूचीकृत गरिएको जानकारी गराउनुभयो।
उहाँले उक्त सूचीकरणले संस्थाको औपचारिक पहिचानलाई थप सुदृढ बनाउनुका साथै आगामी सामाजिक, धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण आधार तयार भएको विश्वास व्यक्त गर्नुभयो।
समाजले आगामी श्रीकृष्ण जन्माष्टमी विशेष धार्मिक कार्यक्रमलाई सफल बनाउन जापानमा रहेका सम्पूर्ण नेपाली समुदाय, विशेषगरी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिता जनाई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक अनुरोध गरेको छ।
बैठकले संस्थाको दीर्घकालीन कार्ययोजना, संगठन विस्तार, सामाजिक सेवामूलक गतिविधि तथा संस्थागत सुदृढीकरणसँग सम्बन्धित अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको जनाएको छ। ती निर्णयहरूको विस्तृत विवरण कार्यसमिति समूहमार्फत छिट्टै सार्वजनिक गरिने समाजले जनाएको छ।
– दीपक पौडेल, टोकियो




प्रतिक्रिया राख्नुहोस्