त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि असार २५ गते दिउँसो आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ।
वीर अस्पतालको बर्न तथा प्लास्टिक सर्जरी विभागको भेन्टिलेटरमा उपचाररत नेपालीलाई शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा. पियुष दाहालका अनुसार नेपालीको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो। अत्यधिक जलेका कारण अस्पताल ल्याइएकै समयदेखि उहाँको अवस्था अत्यन्त गम्भीर रहेको डा. दाहालले जानकारी दिनुभयो।
नेपालीलाई बिहीबार दिउँसो करिब २ः१५ बजे वीर अस्पताल ल्याइएको थियो। अस्पताल पुगेलगत्तै उहाँलाई प्राथमिक उपचारस्वरूप ‘कुलिङ’ (जलेको भाग चिस्याउने प्रक्रिया) गरिएको र त्यसपछि श्वासप्रश्वास सहज बनाउन आवश्यक उपचार तथा भेन्टिलेटरमा राखिएको चिकित्सकले बताएका छन्।
नेपालीको मृत्युको खबर सार्वजनिक भएपछि आफन्तहरू वीर अस्पताल पुगेका छन्। अस्पताल परिसरमा आफन्तसँगै सर्वसाधारणको समेत भीड बढ्न थालेपछि सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै नेपाल प्रहरीले अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको छ।
घटनाको कारण र आत्मदाह प्रयासको पृष्ठभूमिबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। यस विषयमा सामाजिक संजाल तथा संचार माध्यमहरुमा अनेकथरि टिप्पणीहरु आइरहेका छन् ।



प्रतिक्रिया राख्नुहोस्