स्वास्थ्य

खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव

मध्य मनसुनको समय, नेपाली किसानहरुका मानो खाएर मुरी फलाउने याम । धान रोपाईदेखि अन्य अन्नबाली लगाउने यो अवधिमा खेतबारीमा काम आँखामा हिलो पर्ने, घाँस वा अन्य वस्तुले घोच्ने गर्दा गम्भीर समस्या उत्पन्न हुनसक्छ ।

यस्तो अवस्थामा भरतपुर आँखा अस्पतालका चिकित्सकहरुले बर्सातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्ने भन्दै आँखा जोगाएर काम गर्न सुझाव दिएका छन् ।

सो अल्पतालमा अहिले दैनिक आउने बिरामीमध्ये ३० प्रतिशत हाराहारी त्यस्ता बिरामी आउन थालेको भन्दै सजग रहन आग्रह गरिएको हो ।

अस्पतालका निर्देशक डा पुष्पा गिरी श्रेष्ठले नेपाल नेत्रज्योति सङ्घ भरतपुरबाट सञ्चालित भरतपुर आँखा अस्पतालसहित मातहतका सेकेण्डेरी अस्पताल, सर्जिकल सेन्टर र उपचार केन्द्रमा आउने बिरामीमा समस्या देखिएको बताउनुभयो ।

दैनिक एक हजार ५०० हाराहारी बिरामी बहिरङ्ग सेवा लिन अस्पताल र मातहतका केन्द्रहरुमा आउने गर्दछन् । मुख्य रुपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन् ।

यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा छिरेर समस्या हुने गरेको छ । हिलो छिरेको आँखालाई मिचे पछि नानिमा सङ्क्रमण भएर बिरामीहरु आउने गरेको उहाँले बताउनुभयो ।

असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन् । डा श्रेष्ठले भन्नुभयो, “आँखामा हिलो परेपछि आफैँ औषधि किनेर प्रयोग गर्दा थप समस्या हुने गरेको छ ।”

आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार हुने केन्द्र वा अस्पतालमा जान उहाँले सुझाव दिनुभयो । आफू खुसी औषधि प्रयोग गरेका कारण पाँच प्रतिशत हाराहारी बिरामीमा घाउ बढेर अल्सर समेत हुने गरेको उहाँले बताउनुभयो ।

नेपाल नेत्रज्योति सङ्घ चितवनको मुख्य अस्पताल भरतपुरमा रहेको छ । कावासोती र पर्साको ठोरीमा सेकेण्डेरी अस्पताल, चोरमाराको मध्यविन्दु र सर्लाहीको ईश्वर पुरमा सर्जिकल सेन्टर छ भने भरतपुरको ओरालोमा सिटी क्लिनिक छ । तीबाहेक १९ वटा आँखा उपचार केन्द्र विभिन्न जिल्लामा छन् ।

सर्लाहीको हरिपुर र धादिङको नेत्रावतीमा उपचार केन्द्र सुरु गर्ने तयारीमा छ । उहाँले सङ्घ मातहतका वा अन्य आँखा उपचार गर्ने केन्द्र वा अस्पतालमा आँखा देखाएर मात्र औषधि प्रयोग गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.