जापान

बढ्दो तापक्रमले डढेलोझैँ तात्यो जापान, ज्यानै जोखिममा पर्ने चेतावनी

जापानमा बुधबार अत्यधिक तथा ज्यानै जोखिममा पार्ने गर्मीको लहर जारी रहँदा केही सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

लगातारको चरम गर्मीपछि जापान सरकारले पहिलोपटक ‘कोकुशोबी’ अर्थात् ‘क्रूर रूपमा तातो दिन’ भन्ने नयाँ वर्गीकरण लागू गर्दै देशव्यापी सतर्कता जारी गरेको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार मिए प्रान्तको कुवाना सहरमा बुधबार दिउँसो ४०.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन उक्त सहरकै अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम हो। गिफु प्रान्तको मिनो र शिजुओका प्रान्तको हमामात्सुमा ४०.१ डिग्री तथा गिफुकै ताजिमीमा ४० डिग्री सेल्सियस तापक्रम पुगेको छ।

मौसम विज्ञान एजेन्सीले देशका अधिकांश क्षेत्रमा हिट स्ट्रोक (लु लाग्ने जोखिम) सम्बन्धी चेतावनी जारी गर्दै लगातार दोस्रो दिन पनि ‘कोकुशोबी’ अर्थात् ४० डिग्री वा सोभन्दा बढी तापक्रम रहने पूर्वानुमान गरेको छ।

अत्यधिक गर्मीका कारण सरकारले सर्वसाधारणलाई आवश्यक परे निरन्तर एयर कन्डिसनर प्रयोग गर्न, प्रशस्त पानी पिउन, शरीरमा पानीको कमी हुन नदिन तथा लामो समयसम्म घाममा बाहिर नबस्न आग्रह गरेको छ।

जापानमा पछिल्ला केही वर्षयता गर्मीयाम झन् कठोर बन्दै गएको छ। जलवायु परिवर्तनका कारण चरम तापक्रमका घटना बारम्बार दोहोरिन थालेका छन्। गत वर्ष जापानले आफ्नो इतिहासकै सबैभन्दा उच्च ४१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको थियो।

जापानको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका पछिल्लो तथ्याङ्कअनुसार जुलाई ६ देखि १२ तारिखसम्म मात्र ४ हजार ५८० जना अत्यधिक गर्मीका कारण बिरामी भई अस्पताल भर्ना भएका थिए। तीमध्ये सात जनाको उपचारकै क्रममा मृत्यु भएको थियो।

बढ्दो चरम गर्मीलाई ध्यानमा राख्दै जापान मौसम विज्ञान एजेन्सीले यसै वर्षदेखि ४० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम हुने दिनलाई ‘कोकुशोबी’ भनेर आधिकारिक रूपमा वर्गीकरण गर्न थालेको हो। एजेन्सीका अनुसार यसले जापानमा अत्यधिक गर्मीका घटना तीव्र रूपमा बढिरहेको वास्तविकतालाई संकेत गर्दछ।

सरकारी तथ्याङ्कअनुसार सन् २०२५ को गर्मीयाममा मात्रै एक लाखभन्दा बढी मानिस हिट स्ट्रोकका कारण अस्पताल भर्ना भएका थिए। विज्ञहरूले जलवायु परिवर्तनका प्रभावका कारण यस्ता घातक गर्मीका लहर भविष्यमा अझ तीव्र र बारम्बार देखिन सक्ने चेतावनी दिएका छन्।

तस्वीर र समाचार स्रोत जापान टाइम्स

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.