त्रिविको वार्षिकोत्सवमा शिक्षामन्त्रीविरुद्ध नाराबाजी, पाँचजना पक्राउ
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुग्नुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिविका सहकुलपति सस्मित पोखरेलविरुद्ध नाराबाजी भएको छ।
विश्वविद्यालय परिसरमा जारी संगठन हटाउने निर्णयको विरोध चर्किरहेका बेला बिहीबार कीर्तिपुरमा आयोजित कार्यक्रममा मन्त्री पोखरेललाई लक्षित गर्दै प्रदर्शन गरिएको हो।
कार्यक्रमस्थल बाहिर भेला भएका प्रदर्शनकारीहरूले मन्त्री पोखरेलविरुद्ध नाराबाजी गर्दै ‘नेपो बेबी मुर्दावाद’ र ‘मेरिटोक्रेसी लागू गर’ लगायतका नारा लगाएका थिए।
प्रदर्शनका क्रममा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्रिवि प्रशासनले केही दिनअघि विश्वविद्यालय परिसरभित्र रहेका विभिन्न विद्यार्थी संगठनका कार्यालय हटाउने निर्णय कार्यान्वयन गरेको थियो। त्यससँगै प्राध्यापक तथा कर्मचारीसँग आबद्ध विभिन्न संगठनका कार्यालयहरू पनि खाली गराइएको छ।
विश्वविद्यालयलाई शैक्षिक गतिविधिमै केन्द्रित गर्ने, राजनीतिक प्रभाव घटाउने र प्रशासनिक सुधारलाई अघि बढाउने उद्देश्यले यस्तो कदम चालिएको त्रिवि प्रशासनको दाबी छ। तर, उक्त निर्णयको राजनीतिक दल निकट विद्यार्थी, प्राध्यापक तथा कर्मचारी संगठनहरूले तीव्र विरोध गरिरहेका छन्।
उनीहरूले संगठनका कार्यालय हटाउनु लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप भएको, विश्वविद्यालयमा लामो समयदेखि स्थापित संगठनात्मक संरचनामाथि एकपक्षीय हस्तक्षेप गरिएको तथा संवादबिनै निर्णय लागू गरिएको आरोप लगाएका छन्। विभिन्न संगठनले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गर्दै निर्णय फिर्ता लिन माग गरिरहेका छन्।
यता, विश्वविद्यालय प्रशासन भने त्रिविलाई राजनीतिक गतिविधिको केन्द्र नभई अध्ययन, अनुसन्धान र शैक्षिक उत्कृष्टताको थलो बनाउने लक्ष्यअनुसार परिसरभित्रका संगठनका कार्यालय हटाइएको बताउँदै आएको छ।
प्रशासनले भविष्यमा पनि विश्वविद्यालयभित्र राजनीतिक गतिविधि सीमित गर्दै शैक्षिक वातावरण सुदृढ पार्ने नीति निरन्तर अघि बढाइने स्पष्ट पारेको छ।




प्रतिक्रिया राख्नुहोस्