राजनीति

अहिले आन्दोलनले अलिकति धक्का खाए पनि फेरि अगाडि बढ्छ : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको वाम लोकतान्त्रिक आन्दोलनले अहिले केही धक्का खाए पनि फेरि उठेर अगाडि बढ्ने दाबी गर्नुभएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको पनि स्मरण गर्दैसो कुरा बताउनुभएको हो ।

सन्देशमा अध्यक्ष ओलीले पुष्पलालप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा बीपी कोइरालालाई स्मरण गर्दै दुवै दिवंगत नेताले नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा असाधारण योगदान दिएको उल्लेख गर्नुभएको छ। उहाँले उनीहरूको योगदानबाट प्रेरणा लिँदै अगाडि बढ्ने प्रणसमेत व्यक्त गर्नुभएको छ।

अध्यक्ष ओलीले पुष्पलाललाई कम्युनिस्ट पार्टीका संस्थापक मात्र नभई नेपाली राजनीतिका सूक्ष्म विश्लेषक, इतिहासको नयाँ ढंगले व्याख्या गर्ने इतिहासकार, राजनीतिक साहित्यका प्रखर विश्लेषक तथा असाधारण चिन्तकका रूपमा चित्रण गर्नुभएको छ।

उहाँले पुष्पलालले राणा शासनविरोधी संघर्षदेखि पञ्चायती अधिनायकवाद र निरंकुश राजतन्त्रविरुद्धका आन्दोलनसम्म निरन्तर योगदान दिएको उल्लेख गर्नुभएको छ।

उहाँले पुष्पलालले लोकतान्त्रिक र प्रगतिशील शक्तिहरू मिलेर अधिनायकवादविरुद्ध संघर्ष गर्नुपर्ने नीति अघि सारेको स्मरण गर्दै पछि नेकपा (माले) ले सोही नीति अवलम्बन गरेको र नेपाली कांग्रेससँगको सहकार्यका कारण २०४६ सालको राजनीतिक परिवर्तन सम्भव भएको दाबी गर्नुभएको छ।

अध्यक्ष ओलीले पुष्पलालका धेरै नीति र विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको तथा ती विचारहरूले वर्तमान पुस्तालाई मार्गदर्शन गरिरहेको बताउनुभएको छ। साथै उहाँले बीपी कोइरालालाई बहुआयामिक प्रतिभाका धनी राजनीतिज्ञ तथा साहित्यकारका रूपमा वर्णन गर्नुभएको छ।

ओलीले पुष्पलाल र बीपी दुवैले निर्वासन, जेल जीवन र लामो राजनीतिक संघर्षका माध्यमबाट नेपाली समाजलाई प्रेरणा दिएको उल्लेख गर्दै त्यही प्रेरणाले कम्युनिस्ट आन्दोलन पुनः सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभएको छ, “अहिले आन्दोलनले अलिकति धक्का खाएको छ। तर पनि यो आन्दोलन फेरि उठ्नेछ, अगाडि बढ्नेछ। उहाँहरूजस्ता अग्रजका दीर्घकालीन सोच, दूरदृष्टि र दृढताले आन्दोलनलाई निरन्तर प्रेरणा दिइरहेका छन्। त्यही प्रेरणा, शहीदहरूको बलिदान तथा थुप्रै व्यक्तिको त्याग, दुःख र कष्टबाट निर्माण भएको यो आन्दोलन फेरि उठ्नेछ र अगाडि बढ्नेछ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.