ट्राफिक व्यवस्थापन सबैको साझा जिम्मेवारी हो : राजेश हमाल
नेपाली चलचित्रका महानायक राजेश हमालले ट्राफिक व्यवस्थापन नेपाल प्रहरी वा ट्राफिक प्रहरीको मात्र दायित्व नभई प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको बताउनुभएको छ।
सडक अनुशासन, ट्राफिक नियमको पालना र जिम्मेवार नागरिक व्यवहारबाट मात्रै सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माण गर्न सकिने उहाँको भनाइ छ।
शुक्रबार मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै हमालले ट्राफिक नियमको पालना आफ्नो सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले सबैले सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
उहाँले ट्राफिक सचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको भूमिका पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सडक संस्कृतिको विकासका लागि राज्य, सञ्चारमाध्यम र नागरिकबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले समाजमा शान्ति सुरक्षा, अमनचयन र प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि प्रहरीलाई पर्याप्त साधन, स्रोत र आधुनिक प्रविधिले सुसज्जित बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले ट्राफिक प्रहरीको कामलाई प्रभावकारी बनाउन नागरिकको सहयोग र नियम पालना उत्तिकै आवश्यक रहेको बताउनुभयो।
वार्षिकोत्सव समारोहमा ट्राफिक सचेतना अभिवृद्धिमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।
कार्यक्रममा ट्राफिक व्यवस्थापनमा सञ्चारमाध्यमको भूमिका, सडक सुरक्षासम्बन्धी जनचेतना विस्तार तथा बढ्दो सवारी चाप व्यवस्थापनका चुनौतीबारे पनि छलफल भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्