अमेरिकासँग तत्काल वार्ता नहुने इरानको अडान, हर्मुज जलघाँटी नियन्त्रणबाट पछि नहट्ने
इरानले अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता गर्ने कुनै योजना नरहेको स्पष्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्तासम्बन्धी दाबी पुनः अस्वीकार गरेको छ।
इरानी उपविदेशमन्त्री काजेम घरिबाबादीले तेहरानले आफ्नो राष्ट्रिय हित र सर्तअनुसार मात्र कूटनीतिक प्रक्रिया अघि बढाउने बताउँदै अमेरिकाले एकतर्फी रूपमा युद्ध र वार्ताको समय निर्धारण गर्न नसक्ने धारणा व्यक्त गर्नुभएको छ।
राज्य सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा उहाँले ओमानसँग हर्मुज जलघाँटीको व्यवस्थापन र समुद्री यातायात सञ्चालनबारे वार्ता जारी रहे पनि अमेरिकासँग कुनै प्रत्यक्ष छलफल नभएको स्पष्ट पार्नुभयो।
अमेरिकाले चाहेको बेला सैन्य कारबाही गर्ने र चाहेको बेला वार्तामा बस्न आग्रह गर्ने अभ्यास इरानका लागि स्वीकार्य नहुने उहाँको भनाइ थियो।
यो प्रतिक्रिया राष्ट्रपति ट्रम्पले इरानले वार्ताका लागि चासो देखाएको र वार्ता सफल नभए सैन्य कारबाही पुनः सुरु हुन सक्ने चेतावनी दिएपछि आएको हो। यद्यपि इरानी पक्षले त्यस्ता दाबीलाई अस्वीकार गर्दै अमेरिकासँग कुनै औपचारिक प्रत्यक्ष वार्ता तय नभएको दोहोर्याएको छ।
यसैबीच, इरानले हर्मुज जलघाँटीको व्यवस्थापनसम्बन्धी ओमानको संयुक्त नियन्त्रणको प्रस्ताव पनि अस्वीकार गरेको छ। तेहरानले जलघाँटीमा प्रवेश गर्ने मार्ग पूर्ण रूपमा र बाहिरिने मार्गको एक भाग आफ्नै नियन्त्रणमा रहने नयाँ व्यवस्था प्रस्ताव गरेको छ।
राष्ट्रिय सुरक्षाको दृष्टिले यो आवश्यक रहेको दाबी गर्दै इरानले कुनै पनि तेस्रो मुलुक वा विदेशी सैन्य शक्तिलाई जलमार्गको सुरक्षाका नाममा हस्तक्षेप गर्न नदिने स्पष्ट पारेको छ।
घरिबाबादीले जलघाँटीमा गरिने माइन हटाउने, समुद्री सुरक्षा तथा नौवहन व्यवस्थापनसम्बन्धी सबै गतिविधि इरानको सहमतिबिना हुन नसक्ने बताउनुभयो। उहाँले हर्मुज जलघाँटीको युद्धअघिको व्यवस्था पुनःस्थापना नहुने र भविष्यको प्रशासन नयाँ सुरक्षा संरचनाअनुसार अघि बढ्ने दाबी गर्नुभयो।
हर्मुज जलघाँटी विश्वको करिब २० प्रतिशत समुद्री तेल आपूर्तिको प्रमुख मार्ग भएकाले त्यहाँको अवस्थालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।
इरान र ओमानबीच वार्ता जारी रहे पनि जलघाँटीको नियन्त्रण र व्यवस्थापनबारे दुवै पक्षबीच सहमति हुन नसकेकाले कूटनीतिक प्रयास अझै अनिश्चित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।




प्रतिक्रिया राख्नुहोस्