सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा बिहीबार बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ । बैठकले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धर्मिक आस्था, संस्कृति वा समुदायलाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको हो ।
राजनीतिक दल, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, पत्रकार, नागरिक समाज, बुद्धिजीवी र अभिभावकले आ–आफ्नो ठाउँबाट संयमता अपनाउनुपर्नेमा जोड दिँदै बैठकले सुनसरी घटनालाई आधार बनाएर सप्तरीमा हुन सक्ने प्रदर्शन, अराजक गतिविधिबाट थप क्षति र अप्रिय अवस्था सिर्जना हुन नदिन सरोकारवालाले अभिभावकमार्फत आफ्ना सन्तानलाई शान्ति, सुरक्षा, सद्भाव र अनुशासनको सन्देश दिनुपर्ने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचानलाई कायम राख्दै सामाजिक एकता सुदृढ बनाउन वातावरण निर्माण गरिने पनि निर्णयमा उल्लेख गरिएको छ ।
त्यसैगरी विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी कुनै प्रकारका उच्छृङ्खल गतिविधिमा संलग्न हुन नदिन क्याम्पस प्रमुख, प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाले विशेष पहल गर्ने निर्णय गरिएको छ ।
बैठकले प्रदर्शनमा बालबालिकाको प्रयोग पूर्ण रूपमा नियन्त्रण गर्नुपर्नेमा पनि सहमति जनाएको छ । जिल्लामा विभिन्न जातजाति, भाषाभाषी, धर्म र समुदायबीच आपसी एकता, सहिष्णुता र भ्रातृत्व कायम राख्न स्थानीय तहसम्म सद्भाव र्याली तथा संवाद कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ ।
साथै सुनसरी घटनाको पारदर्शी र निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई क्षतिपूर्ति र घाइतेहरूको उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गर्ने निर्णय गर्दै बैठकले सामाजिक सद्भावमा आँच पुग्न सक्ने गतिविधिप्रति सजग रहन सबै नागरिकलाई आग्रह गर्ने निर्णय गरेको जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्