जापान

निद्रादेखि हिमोफिलियासम्मको खोज : चार जापानी वैज्ञानिकलाई लास्कर अवार्ड

निद्रा नियमन गर्ने मस्तिष्कीय रसायन तथा हिमोफिलिया ‘ए’ का बिरामीका लागि विकसित एन्टिबडी उपचारसम्बन्धी महत्वपूर्ण खोजका लागि चार जापानी वैज्ञानिकले प्रतिष्ठित अमेरिकी चिकित्सा विज्ञान पुरस्कार लास्कर अवार्ड प्राप्त गरेका छन्।

‘नोबेल पुरस्कारको पूर्वसंकेत’ का रूपमा समेत हेरिने लास्कर अवार्डअन्तर्गत बुधबार आधारभूत चिकित्सा अनुसन्धानतर्फ जापानको युनिभर्सिटी अफ सुकुबाका प्राध्यापक मसाशी यानागिसावा र स्ट्यानफोर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिनका इमानुएल मिग्नोट सम्मानित हुनुभएको हो।

यानागिसावा र मिग्नोटले मानिसलाई जागा राख्न महत्वपूर्ण भूमिका खेल्ने मस्तिष्कीय पेप्टाइड ‘ओरेक्सिन’ पहिचान गर्नुभएको थियो। उहाँहरूको छुट्टाछुट्टै अनुसन्धानले ओरेक्सिन रिसेप्टरलाई अवरुद्ध गरी प्राकृतिक निद्रा ल्याउने औषधि विकासको बाटो खोलेको छ।

परम्परागत निद्रा लाग्ने औषधिले निम्त्याउन सक्ने निर्भरता तथा औषधिप्रतिको सहनशीलता (टोलरेन्स) को जोखिम कम गर्ने उद्देश्यले ओरेक्सिन प्रणालीमा आधारित औषधिलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यानागिसावाले ओरेक्सिन जीन नभएका अवस्थामा विकास गरिएका मुसामा नार्कोलेप्सी (अत्यधिक निद्रा लाग्ने अवस्था) जस्तै लक्षण देखिने तथ्यसमेत पत्ता लगाउनुभएको थियो।

उहाँको यही खोजमा आधारित ओभेपोरेक्स्टोन औषधिलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गत महिना स्वीकृति दिएको थियो। यो नार्कोलेप्सीको उपचारका लागि उक्त अनुसन्धानबाट विकसित पहिलो औषधि भएको जनाइएको छ।

लास्कर फाउन्डेसनले मिग्नोट र यानागिसावाको अनुसन्धानले निद्रासम्बन्धी अध्ययनलाई परम्परागत शरीररचनाको अध्ययनबाट आधुनिक आणविक विज्ञानतर्फ पुर्‍याएको जनाएको छ।

ओरेक्सिन प्रणालीले शरीरले निद्रा र जागृत अवस्थालाई कसरी नियमन गर्छ भन्ने बुझ्न पहिलो महत्वपूर्ण आणविक आधार प्रदान गरेको फाउन्डेसनको भनाइ छ।

हिमोफिलियाको उपचारमा अर्को महत्वपूर्ण उपलब्धि

यसैगरी, जापानी औषधि कम्पनी चुगाई फार्मास्युटिकलका तीन वैज्ञानिक कुनिहिरो हत्तोरी, ताकेहिसा किताजावा र तोमोयुकी इगावाले क्लिनिकल चिकित्सा अनुसन्धानतर्फको लास्कर अवार्ड प्राप्त गर्नुभएको छ।

उहाँहरूले इमिसिजुमाब नामक एन्टिबडी विकास गर्नुभएको हो। यसले रगत जमाउन आवश्यक तर हिमोफिलिया ‘ए’ का बिरामीमा कमी हुने क्लटिङ फ्याक्टरको कार्यको नक्कल गर्छ। यसबाट अत्यधिक रक्तस्राव रोक्न सहयोग पुग्छ।

चुगाईको यही अनुसन्धानमा आधारित हेमलिब्रा औषधिले हिमोफिलिया ‘ए’ बाट प्रभावित बालबालिकाको जीवनमा उल्लेखनीय परिवर्तन ल्याएको लास्कर फाउन्डेसनले जनाएको छ। उपचारपछि उनीहरू पीडा र जीवन जोखिममा पार्न सक्ने रक्तस्रावको निरन्तर चिन्ताबिना सहज रूपमा खेल्न सक्ने अवस्था बनेको फाउन्डेसनको भनाइ छ।

फाउन्डेसनका अनुसार हत्तोरीले दूरदर्शी सोचका साथ अनुसन्धानको सुरुवात गर्नुभएको थियो भने किताजावा र इगावाले औषधिविज्ञान तथा रासायनिक इन्जिनियरिङसम्बन्धी आफ्नो विशेषज्ञताको संयोजनमार्फत त्यसलाई सफल उपचारमा परिणत गर्नुभएको थियो।

माइकल जे. फक्सलाई सार्वजनिक सेवा पुरस्कार

यस वर्षको सार्वजनिक सेवा पुरस्कार भने अभिनेता माइकल जे. फक्सलाई प्रदान गरिएको छ। उहाँले आफ्नो लोकप्रियता र सार्वजनिक पहिचानलाई पार्किन्सन्स रोगसम्बन्धी अनुसन्धान तथा जनचेतना र पैरवी अघि बढाउन प्रयोग गर्नुभएको योगदानका लागि सम्मान पाउनुभएको हो।

जापानका वैज्ञानिकहरूले यसअघि पनि लास्कर अवार्ड प्राप्त गरिसकेका छन्। क्योटो विश्वविद्यालयका काजुतोशी मोरीले सन् २०१४ मा कोषभित्रको महत्वपूर्ण गुणस्तर नियन्त्रण प्रणाली ‘अनफोल्डेड प्रोटिन रेस्पोन्स’ सम्बन्धी खोजका लागि यो पुरस्कार पाउनुभएको थियो।

त्यस्तै, क्योटो विश्वविद्यालयकै शिन्या यामानाकाले सन् २००९ मा शरीरका विभिन्न प्रकारका कोषमा विकास गर्न सक्ने इन्ड्युस्ड प्लुरिपोटेन्ट स्टेम (आईपीएस) सेल विकास गरेबापत लास्कर अवार्ड प्राप्त गर्नुभएको थियो। उहाँले त्यसको तीन वर्षपछि सन् २०१२ मा शरीरक्रिया तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार समेत प्राप्त गर्नुभएको थियो।

तस्वीर र समाचार स्रोत : टोमोको ओटाके, द जापान टाइम्स

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.