एआई र डिजिटल प्रविधिबाट फैलिँदो घृणापूर्ण भाषण रोक्न गुटेरेसको आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घृणापूर्ण भाषणविरुद्ध सरकार, प्रविधि कम्पनी र नागरिक समाजले समन्वित रूपमा काम गर्नुपर्ने आह्वान गर्नुभएको छ।
उहाँले “घृणाको विषालु सन्देश तीव्र गतिमा फैलिँदै गहिरोसम्म असर गरिरहेको” चेतावनी दिँदै विद्युतीय मञ्च, क्रमादेश र कृत्रिम बौद्धिकतामार्फत घृणापूर्ण कथनले नयाँ स्वरूप लिइरहेको बताउनुभयो।
बिहीबार स्थानीय समयअनुसार न्युयोर्कमा आयोजित घृणापूर्ण भाषणको सामना गर्न अन्तरधार्मिक तथा अन्तरसांस्कृतिक संवाद र सहिष्णुता प्रवर्द्धनसम्बन्धी विश्व सम्मेलनलाई सम्बोधन गर्दै गुटेरेसले घृणापूर्ण भाषणविरुद्धको प्रयास संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लिखित सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वको प्रतिबद्धता पूरा गर्न अत्यावश्यक रहेको बताउनुभयो।
“घृणापूर्ण भाषणविरुद्धको यस विश्व सम्मेलनमा तपाईंहरूलाई स्वागत गर्न पाउनु मेरा लागि ठूलो सम्मान हो,” गुटेरेसले भन्नुभयो। उहाँले संयुक्त राष्ट्रसङ्घको बडापत्रको प्रारम्भिक पंक्तिमा “हामी जनताले” “सहिष्णुताको अभ्यास गर्ने र असल छिमेकीका रूपमा एकअर्कासँग शान्तिपूर्वक बस्ने” प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्नुभयो।
“आठ दशकदेखि हाम्रो सङ्गठनले त्यो प्रतिबद्धता पूरा गर्न निरन्तर प्रयास गर्दै आएको छ,” उहाँले भन्नुभयो। उहाँले विवादको शान्तिपूर्ण समाधान, समावेशी र न्यायपूर्ण समाज निर्माणका प्रयास, मानवअधिकार उल्लङ्घनको विरोध तथा “सबै पृष्ठभूमि, संस्कृति र आस्थाका मानिसलाई स्वागत गर्ने, उनीहरूको कुरा सुन्ने र सम्मान गर्ने” विश्वव्यापी संवादको मञ्चका रूपमा संयुक्त राष्ट्रसङ्घले निर्वाह गर्दै आएको भूमिकाको उल्लेख गर्नुभयो।
“तर घृणापूर्ण भाषणले सधैँ यस दृष्टिकोणको विरुद्ध काम गर्दै आएको छ। आज यसको विषालु सन्देश तीव्र गतिमा फैलिँदै गहिरोसम्म असर गरिरहेको छ,” गुटेरेसले भन्नुभयो। उहाँका अनुसार घृणापूर्ण भाषणले “नयाँ स्वरूप लिइरहेको छ, नयाँ बाटो खोजिरहेको छ र विद्युतीय मञ्च तथा क्रमादेशदेखि कृत्रिम बौद्धिकतासम्मका नयाँ प्रविधिलाई घृणा फैलाउने हतियारका रूपमा प्रयोग गरिरहेको छ।”
“यसको बढ्दो पहुँचले हाम्रो साझा मानवतालाई चुनौती दिइरहेको छ,” उहाँले भन्नुभयो। उहाँले विभिन्न महादेशमा घृणापूर्ण र उत्तेजक अभिव्यक्तिले “विश्वास कमजोर पारिरहेको, समुदायलाई विभाजित गरिरहेको र सम्पूर्ण समूहलाई अमानवीय रूपमा चित्रित गरिरहेको” चेतावनी दिनुभयो।
“हाम्रो समाजका महत्वपूर्ण आधार- स्वीकार्यता, सहानुभूति, समझदारी र विविधताप्रतिको सम्मान गर्ने क्षमता—माथि आक्रमण भइरहेको छ र ती कमजोर बन्दै गएका छन्,” गुटेरेसले भन्नुभयो। उहाँले जातीय भेदभाव, महिलाविरोधी घृणा र विदेशीप्रतिको द्वेषलाई कतिपय ठाउँमा उत्सवका रूपमा प्रस्तुत गरिएको तथा यहुदीविरोधी घृणा, मुस्लिमविरोधी घृणा, अल्पसङ्ख्यक इसाई समुदायमाथिको भेदभाव र अन्य धार्मिक तथा जातीय समूहविरुद्धको घृणालाई सामान्यजस्तै बनाइँदै गएको बताउनुभयो।
“मानवअधिकारको उल्लङ्घन भइरहेको छ र मानव मर्यादामाथि प्रहार भइरहेको छ,” उहाँले भन्नुभयो। संयुक्त राष्ट्रसङ्घका महासचिवले घृणापूर्ण भाषणको चरम रूपले हिंसा भड्काउन र गम्भीर अपराधमा योगदान पुर्याउन सक्ने चेतावनी दिनुभयो।
“घृणापूर्ण भाषणको सबैभन्दा खतरनाक रूपले हिंसा भड्काउँछ, द्वन्द्व बढाउँछ र नरसंहार, मानवताविरुद्धका अपराध, युद्ध अपराध तथा जातीय सफाइजस्ता गम्भीर अपराध हुनमा योगदान पुर्याउँछ,” गुटेरेसले भन्नुभयो। “हामीले यस्तो घटना विगतमा देखेका छौँ। अहिले पनि देखिरहेका छौँ। र हामीले यसलाई निरन्तर हुन दिनु हुँदैन।”
गुटेरेसले घृणालाई सामूहिक रूपमा अस्वीकार गर्दै विद्युतीय तथा प्रत्यक्ष दुवै माध्यममा घृणापूर्ण भाषणविरुद्धको प्रयास अझ बलियो बनाउन आह्वान गर्नुभयो।
“हामीले सामूहिक रूपमा आफ्नो आवाज उठाएर घृणालाई अस्वीकार गर्नुपर्छ। साथै विद्युतीय तथा प्रत्यक्ष दुवै क्षेत्रमा घृणापूर्ण भाषणविरुद्धको प्रयास दोब्बर बनाउनुपर्छ,” उहाँले भन्नुभयो। यसका लागि “समस्याका मूल कारण र त्यसलाई अघि बढाउने तत्वसँगै त्यसका परिणामलाई सम्बोधन गर्नुपर्ने” तथा राष्ट्र, संस्कृति र धर्मबीचको संवादलाई बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो।
“यी प्रयास सफल हुन वास्तवमै समावेशी हुनुपर्छ। सम्मान र समानतामा आधारित हुनुपर्छ। महिला, पुरुष र युवाको सहभागिताबाट आकार लिनुपर्छ,” गुटेरेसले भन्नुभयो। उहाँले धार्मिक, परम्परागत तथा सामुदायिक नेता, आदिवासी जनजाति तथा अल्पसङ्ख्यक समूहको सहभागिता आवश्यक रहेको बताउनुभयो।
“स्थानीय यथार्थको उनीहरूको गहिरो बुझाइ र स्थानीय समुदायबीचको विश्वासले पुस्तौँसम्म मानिसको व्यवहार र कथनलाई प्रभावित गर्न सक्छ। यसले तनाव कम गर्न तथा द्वन्द्व रोक्न र समाधान गर्न सहयोग पुर्याउन सक्छ,” उहाँले भन्नुभयो।
घृणापूर्ण तथा खतरनाक कथनको सामना गर्न शिक्षा, दुर्व्यवहारको निशाना बनेकाहरूलाई थप सहयोग, सरकारको बलियो प्रतिबद्धता र प्रविधि कम्पनीको जवाफदेहिता आवश्यक रहेको गुटेरेसले बताउनुभयो।
“म स्पष्ट पार्न चाहन्छु—घृणापूर्ण भाषण नियन्त्रण गर्नु अभिव्यक्ति स्वतन्त्रता समाप्त गर्नु होइन। तर अभिव्यक्ति स्वतन्त्रतालाई अरूमाथि हानि पुर्याउने वा भएको हानि अझ बढाउने बहाना कहिल्यै बनाइनु हुँदैन,” उहाँले भन्नुभयो।
“हामीलाई थाहा छ, घृणापूर्ण भाषणबाट हुने क्षति कसरी रोक्ने। र अन्तरधार्मिक तथा अन्तरसांस्कृतिक संवादका लागि बाटो कसरी खोल्ने भन्ने पनि थाहा छ,” गुटेरेसले भन्नुभयो।
उहाँले संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गत घृणापूर्ण भाषणविरुद्ध समन्वित प्रयास बलियो बनाउन भइरहेका कामको प्रशंसा गर्नुभयो। यसअन्तर्गत घृणापूर्ण भाषणविरुद्धको संयुक्त राष्ट्रसङ्घीय रणनीति तथा कार्ययोजनाले शिक्षा, साझेदारी, जनचेतना र घृणापूर्ण कथनको प्रतिवादसम्बन्धी प्रयासलाई मार्गदर्शन गर्ने प्रमुख सिद्धान्त तथा प्रतिबद्धता तय गरेको उहाँले उल्लेख गर्नुभयो।
“महत्वपूर्ण कुरा के हो भने यो अन्तर्राष्ट्रिय मानवअधिकारमा आधारित छ—विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार र समानता तथा भेदभावविरुद्धका सिद्धान्तसहित,” उहाँले भन्नुभयो।
गुटेरेसले धार्मिक स्थलको संरक्षणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्ययोजनाको पनि उल्लेख गर्नुभयो। उक्त योजना पनि “मानवअधिकारमा आधारित रहेको” र “धार्मिक स्थल सुरक्षित छन् भन्ने सुनिश्चित गर्न सदस्य राष्ट्रका प्रयासलाई सहयोग गर्ने ठोस सुझावहरू प्रस्तुत गरेको” उहाँले बताउनुभयो।
उक्त योजनाले “धार्मिक आस्थावान्हरूले शान्तिपूर्वक आफ्ना धार्मिक अनुष्ठान गर्न सक्ने” तथा “करुणा र सहिष्णुताका मूल्य विश्वव्यापी रूपमा फस्टाउन सक्ने” वातावरण निर्माण गर्ने लक्ष्यसमेत राखेको उहाँले बताउनुभयो।
“यी दुवै योजनाले असहिष्णुताविरुद्ध लड्न र शान्तिपूर्ण सहअस्तित्व प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसङ्घको प्रयासलाई बलियो बनाउँछन्,” गुटेरेसले भन्नुभयो।
तर घृणापूर्ण भाषणको सामना संयुक्त राष्ट्रसङ्घले एक्लै गर्न नसक्नेमा उहाँले जोड दिनुभयो। सरकार, क्षेत्रीय तथा बहुपक्षीय सङ्गठन, निजी क्षेत्र र नागरिक समाज—“धार्मिक समुदाय, शैक्षिक क्षेत्र र सञ्चारमाध्यमसहित”—ले शान्तिपूर्ण, न्यायपूर्ण र समावेशी समाज निर्माणमा साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो।
“हामी सबैको भूमिका छ। कोही पनि दर्शक भएर बस्ने अवस्था छैन,” उहाँले भन्नुभयो।
आफ्नो सम्बोधनको अन्त्यमा गुटेरेसले तत्काल कदम चाल्नुपर्ने सन्देश दिँदै भन्नुभयो, “हामीले आपसी समझदारी बढाउन सँगै काम गर्नुपर्छ। भय, घृणा र हिंसाका दुःखद चक्र अन्त्य गर्नुपर्छ। र हाम्रो बडापत्रले परिकल्पना गरेका एकताबद्ध तथा स्थिर समाज निर्माण गर्नुपर्छ।”
“आउनुहोस्, हामी यस चुनौतीको सामना गरौँ। वर्तमान र भावी पुस्ताप्रति गरेको हाम्रो साझा प्रतिबद्धता पूरा गरौँ,” उहाँले भन्नुभयो। (एएनआई)





प्रतिक्रिया राख्नुहोस्