पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति एमाले महासचिवको आपत्ति
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट मध्यराति पक्राउ गरेको भन्दै आपत्ति जनाउनुभएको छ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत जबराको पक्राउ नेपालको प्रचलित कानुन, संविधान तथा न्याय प्रणालीको गम्भीर उल्लंघन भएको दाबी गर्नुभएको हो।
उहाँले बिना प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको भन्दै यस्तो कार्य लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको उल्लेख गर्नुभएको छ।
पोखरेलले लेख्नुभएको छ, “बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानुन र न्याय प्रणालीको गम्भीर उल्लंघन हो। यो हाम्रो संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीतको काम हो।”
उहाँले राज्यका निकायबाट हुने हरेक कार्य संविधान र प्रचलित कानुनअनुसार हुनुपर्ने बताउँदै कानुनी प्रक्रिया र विधिको शासनको पालना गर्नुपर्नेमा जोड दिनुभएको छ।
महासचिव पोखरेलले गैरकानुनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको टिप्पणी गर्दै यस्तो कार्यको खबरदारी गर्न सबैलाई आग्रह गर्नुभएको छ।
“यस्तो गैरकानुनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु भनेको प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु हो। तसर्थ सबैले गलत कामको खबरदारी गरौँ,” उहाँले लेख्नुभएको छ।
पूर्वप्रधानन्यायाधीश जबराको पक्राउसँग सम्बन्धित घटनाक्रम र प्रहरीले अघि सारेको कानुनी आधारबारे भने सम्बन्धित निकायको आधिकारिक विवरण आउन बाँकी रहेको छ।
यसै गरी एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई मध्यरातमा घरबाट लगिएको घटनाप्रति आपत्ति जनाउँदै प्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई ‘अपहरणको शैलीमा’ घरबाट उठाएर पछि ‘उहाँकै सुरक्षाका लागि’ भन्दै बयान दिनु राज्य आतंकको पराकाष्ठा भएको टिप्पणी गर्नुभएको छ ।
रिजालले सुरक्षाको विषय उठाउने हो भने प्रधानमन्त्री बालेन्द्र शाहलाई नै सबैभन्दा बढी ‘थ्रेट’ हुनसक्ने भन्दै व्यङ्ग्यात्मक प्रश्न गर्दै त्यसो भए अब उहाँलाई प्रहरीले हरेक राती चौकीमा लगेर राख्छ त ? भन्नुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्