कर्पोरेट/पर्यटन

हिमलुङ हिमपहिरोमा थप तीन शव भेटिए, मृतकको संख्या सात पुग्यो

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा असोज ११ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका आरोहीमध्ये थप तीन जनाको शव आज भेटिएको छ। थप तीन शव भेटिएसँगै हिमपहिरोमा परी मृत्यु हुने आरोहीको संख्या सात पुगेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार आज गोर्खाको धार्चे गाउँपालिका–२ करौँजाका ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐँसेलुखर्क गाउँपालिका–३ का सुरज राई र रुकुमको हुकामका ५७ वर्षीय कमल बुढाको शव फेला परेको हो।

हिमपहिरोपछि बेपत्ता आरोहीको खोजी तथा उद्धारका लागि अन्तर्राष्ट्रिय माउन्टेन गाइड (आइएफएमजीए) का पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँच जना अनुभवी क्लाइम्बिङ गाइडको विशेष टोली परिचालन गरिएको थियो। सोही टोलीले आज हिउँ पन्छाएर तीन जनाको शव निकालेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।

यसअघि आइतबार र सोमबार गरिएको खोजीका क्रममा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। उनीहरूको शव भेटिएसँगै मृतक आरोहीको संख्या चार पुगेको थियो।

आज थप तीन जनाको शव भेटिएपछि हिमपहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको हो। घटनामा बेपत्ता रहेका अन्य आरोहीको खोजी तथा उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ।

असोज ११ गते हिमलुङ हिमालमा गएको हिमपहिरोमा आरोहीहरू बेपत्ता भएपछि उनीहरूको खोजीका लागि अनुभवी पर्वतारोही तथा क्लाइम्बिङ गाइडको टोली परिचालन गरिएको थियो। कठिन भौगोलिक अवस्था र बाक्लो हिउँका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.