विश्व समाचार

इमरान खानको रिहाइ माग्दै इस्लामाबादतर्फ पीटीआईको लामो मार्च

जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग गर्दै उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का समर्थकले इस्लामाबादतर्फ लामो मार्च सुरु गरेका छन् ।

सरकार र विपक्षीबीच भएको वार्ता सहमतिमा पुग्न नसकेपछि आइतबार खैबर पख्तुनख्वाबाट मार्च सुरु गरिएको हो । पीटीआईका अनुसार पाँच हजारभन्दा बढी समर्थक ट्रक, बस तथा निजी सवारीसाधनसहित मार्चमा सहभागी छन् ।

खैबर पख्तुनख्वाका मुख्यमन्त्री तथा इमरान खानका समर्थक सोहेल अफ्रिदीले लक्की मारवतबाट मार्चको नेतृत्व गर्नुभएको छ । मार्चमा सहभागी हुनेहरूका लागि बाटोमा विभिन्न स्थानमा रात बिताउने व्यवस्था गरिएको छ ।

लक्की मारवतबाट सुरु भएको टोली करक, कोहाट, पेशावर र चर्सद्दातर्फ अघि बढ्दै अक्टोबर ८ मा खैराबाद पुग्ने योजना छ । त्यसपछि इस्लामाबादतर्फको अर्को चरणबारे निर्णय गरिने पीटीआईले जनाएको छ ।

सरकार र पीटीआईबीच वार्ता असफल

मार्च रोक्ने प्रयासस्वरूप सङ्घीय सरकार र पीटीआईबीच वार्ता भए पनि सहमति हुन सकेन । तीन चरणमा भएको वार्तामा इमरान खानको रिहाइ, उनलाई अस्पतालमा स्थानान्तरण, परिवार तथा चिकित्सकलाई भेट्न दिने व्यवस्था र प्रदर्शन स्थगनलगायत विषयमा मतभेद देखिएको थियो ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले वार्ता असफल हुनुमा खैबर पख्तुनख्वाका मुख्यमन्त्री अफ्रिदीलाई जिम्मेवार ठहर गर्दै मार्चका क्रममा कुनै मानवीय क्षति भए त्यसको जिम्मेवारी उहाँले लिनुपर्ने चेतावनी दिनुभएको छ । सरकारले प्रदर्शनकारीलाई इस्लामाबाद प्रवेश गर्न नदिने स्पष्ट गरेको छ ।

पीटीआईले भने सरकारसँगको वार्ता असफल हुनुमा केन्द्र सरकारले खैबर पख्तुनख्वामा सञ्चालन गर्न खोजेको सुरक्षा तथा आतङ्कवादविरोधी कारबाहीको जिम्मेवारी प्रदेश सरकारलाई लिन दबाब दिएको दाबी गरेको छ ।

इस्लामाबादमा सुरक्षा कडा

मार्च राजधानी प्रवेश गर्ने सम्भावनालाई ध्यानमा राख्दै सरकारले इस्लामाबाद प्रवेश गर्ने सडकमा कन्टेनर राखेर अवरोध सिर्जना गरेको छ । राजधानीको संवेदनशील क्षेत्र तथा प्रमुख सडकमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

यसअघि पनि खानका समर्थकको प्रदर्शन हिंसात्मक बनेका कारण सरकारले सम्भावित झडप रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

सरकारले पछिल्लो समय पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पाकिस्तानी तालिवान (टीटीपी) का सशस्त्र गतिविधि बढेको भन्दै अहिले ठूलो राजनीतिक प्रदर्शन गर्नु सुरक्षाका दृष्टिले जोखिमपूर्ण हुने बताएको छ । सरकारको आरोपलाई पीटीआईले अस्वीकार गर्दै आएको छ ।

A portrait of the former Prime Minister Imran Khan is seen amid flags of Pakistan Tehreek-e-Insaf (PTI) and the religious and political party Jamat-e-Islami (JI) as supporters attend a joint protest demanding free and fair results of the elections, outside the provincial election commission of Pakistan (ECP)in Karachi, Pakistan February 10, 2024. REUTERS/Akhtar Soomro

इमरान खानको रिहाइ मुख्य माग

पीटीआई समर्थकले इमरान खानलाई जेलबाट तत्काल रिहा गर्नुपर्ने मुख्य माग राखेका छन् । त्यसबाहेक उनलाई अस्पतालमा स्थानान्तरण गरी उपचारको व्यवस्था गर्नुपर्ने तथा परिवारलाई भेटघाटको सहज व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूको छ ।

इमरान खान सन् २०२३ देखि जेलमा हुनुहुन्छ । भ्रष्टाचारलगायत विभिन्न मुद्दामा उहाँलाई दोषी ठहर गरिएको भए पनि खान र पीटीआईले ती मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको दाबी गर्दै आएका छन् । सरकारी पक्षले भने आरोपहरू कानुनी प्रक्रियाअन्तर्गत रहेको बताउँदै आएको छ ।

पूर्वक्रिकेट खेलाडी खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बन्नुभएको थियो । संसद्मा अविश्वासको प्रस्ताव पारित भएपछि अप्रिल २०२२ मा उहाँ पदबाट हट्नुभएको थियो ।

सन् २०२४ को आमनिर्वाचनमा पीटीआई समर्थित उम्मेदवारहरूले उल्लेख्य सफलता हासिल गरे पनि निर्वाचनमा धाँधली भएको खानको पार्टीले आरोप लगाएको थियो । सरकारले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

खान जेलमा रहे पनि उहाँको राजनीतिक प्रभाव र समर्थक आधार कमजोर नभएको पीटीआईको दाबी छ । पछिल्लो लामो मार्चले पाकिस्तानमा लामो समयदेखि जारी राजनीतिक तनावलाई पुनः सडकमा ल्याएको छ ।

वार्ता असफल भएपछि सुरु भएको आन्दोलन राजधानीसम्म पुग्ने क्रममा सरकार र पीटीआईबीचको टकराव थप बढ्न सक्ने देखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.