खगेन्द्र सुनारमाथि छानबिन सुरु, सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खगेन्द्र सुनारमाथि छानबिन गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ । सुनारका सम्बन्धमा सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्यसामग्री र उठेका प्रश्नहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पार्टीले सत्यतथ्य अन्वेषण पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।
त्यस्तै अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘घटनाको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ । अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका लागि छानबिन निष्कर्षमा नपुगुञ्जेलसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ’ ,’ विज्ञप्तिमा भनिएको छ ।
सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषय गम्भीर र संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, राज्यका सम्बन्धित निकायहरूबाट हुने स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि जनाएको छ ।
सुनारमाथि लागेको आरोपका बारेमा अनुसन्धानका लागि राज्यका निकायलाई पनि सघाउने विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ति –





प्रतिक्रिया राख्नुहोस्