जल/वातावरणबिचार

स्वास्थ्य, जलवायु विघटन र आणविक जोखिम : कोप–३१ मा उठाउनुपर्ने विषय

परिचय

विश्वका नेताहरूले सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुने कोप–३१ को तयारी गरिरहेका बेला जलवायु बहसले एउटा केन्द्रीय प्रश्नको सामना गर्नुपर्छ : मानव स्वास्थ्य र अस्तित्वका आधारभूत सर्तहरू बढ्दो जोखिममा पर्दै जाँदा सुरक्षाको अर्थ के हुन्छ? तीन दशकभन्दा लामो समयदेखि मानवीय सहायता क्षेत्रका अभियन्ता, स्वास्थ्यकर्मी र निःशस्त्रीकरणका पक्षधरहरूले वास्तविक सुरक्षा मानव जीवनको संरक्षणबाट सुरु हुन्छ भन्ने तर्क गर्दै आएका छन्। आज जलवायु विघटनले यस तर्कलाई पहिलेभन्दा अझ जरुरी बनाएको छ।

जलवायु परिवर्तन अब टाढाको वातावरणीय मुद्दा रहेन। यो जनस्वास्थ्यको बढ्दो आपत्काल हो, जसले अत्यधिक गर्मीको जोखिम बढाउँछ, खाद्य तथा पानीको सुरक्षामा खतरा उत्पन्न गर्छ, अत्यावश्यक स्वास्थ्य सेवामा अवरोध पुर्‍याउँछ र विद्यमान असमानतालाई अझ गहिरो बनाउँछ। यसैबीच, सरकारहरूले समुदायलाई जलवायुजन्य विपत्तिबाट जोगाउन नसक्ने सैन्य विस्तार र आणविक हतियार भण्डारमा ठूलो स्रोत लगानी गरिरहेका छन्।

सन् २०२५ को द ल्यान्सेट काउन्टडाउन प्रतिवेदनले विभिन्न सूचकमा स्वास्थ्य जोखिम बिग्रँदै गएको अभिलेख प्रस्तुत गरेको छ। प्रतिवेदनले सन् १९९० को दशकयता गर्मीसम्बन्धी मृत्युदर २३ प्रतिशतले बढेको र वार्षिक रूपमा करिब पाँच लाख ४६ हजार मानिसको मृत्यु हुने गरेको अनुमान गरेको छ। यी निष्कर्षले जलवायु परिवर्तनविरुद्धको कार्यमा भएको ढिलाइको मानवीय मूल्य र जलवायु नीतिको केन्द्रमा स्वास्थ्यलाई राख्नुपर्ने आवश्यकतालाई उजागर गर्छन्।

यस संकटले विश्वव्यापी प्राथमिकतामा रहेको गम्भीर विरोधाभासलाई देखाउँछ। राज्यहरूले मानव जीवनको संरक्षण गर्नुपर्ने आवश्यकता स्वीकार गर्छन्, तर जनतालाई वातावरणीय उथलपुथल र विनाशकारी आणविक जोखिमको चपेटामा पार्ने नीतिलाई निरन्तरता दिन्छन्। मानव सुरक्षा सम्बन्धी व्यापक दृष्टिकोणभित्र मानव स्वास्थ्य, जलवायु उत्थानशीलता, शान्ति र आणविक जोखिम न्यूनीकरणलाई समेटेर कोप–३१ ले यस विरोधाभासलाई चुनौती दिन सहयोग गर्नुपर्छ।

जलवायु परिवर्तन जनस्वास्थ्यको आपत्काल हो

जलवायु विघटनका स्वास्थ्यसम्बन्धी परिणाम विभिन्न महादेशमा देखिइसकेका छन्। अत्यधिक गर्मीले वृद्धवृद्धा, बाहिर काम गर्ने श्रमिक, बालबालिका र दीर्घरोग भएका मानिसलाई उच्च जोखिममा पार्छ। बाढीले पिउने पानी दूषित बनाउँछ, अस्पतालमा क्षति पुर्‍याउँछ र उपचारमा अवरोध सिर्जना गर्छ। खडेरीले पोषण र जीविकोपार्जनमा खतरा उत्पन्न गर्छ भने वातावरणीय अवस्थाको परिवर्तनले संक्रामक रोग फैलिने स्वरूपमा बदलाव ल्याउँछ।

यी दबाबले सबैलाई समान रूपमा प्रभावित गर्दैनन्। स्वास्थ्य सेवा, सुरक्षित आवास, स्वच्छ पानी र सामाजिक सुरक्षामा सीमित पहुँच भएका समुदायले सबैभन्दा बढी जोखिम सामना गर्छन्, जबकि त्यसको सामना गर्न उनीहरूसँग सबैभन्दा कम स्रोतसाधन हुन्छन्।

नियमित औषधि, डायलाइसिस वा अत्यावश्यक सेवामा निर्भर बिरामीका लागि स्वास्थ्य केन्द्रमा भएको क्षति वा आपूर्ति शृङ्खलामा आएको अवरोधले वातावरणीय आपत्काललाई जीवन जोखिममा पार्ने चिकित्सकीय संकटमा बदल्न सक्छ। अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धाका हकमा पहुँचयोग्य आश्रयस्थलको अभाव, उपचारमा अवरोध र अपर्याप्त पूर्वचेतावनी प्रणालीले जोखिम अझ बढाउँछन्।

त्यसैले जलवायु अनुकूलनको मुख्य अङ्गका रूपमा स्वास्थ्य उत्थानशीलतालाई विकास गर्नुपर्छ। जलवायु नीतिले विशेषगरी सेवा र सुविधाबाट वञ्चित समुदायमा स्वास्थ्य पूर्वाधार, रोग निगरानी, आपत्कालीन तयारी र अत्यावश्यक सेवामा पहुँच सुदृढ गर्नुपर्छ। मानव स्वास्थ्यलाई केन्द्रमा नराख्ने जलवायु सम्मेलनले आफ्ना निर्णयबाट जोगाइनुपर्ने मानिसकै जीवनलाई बेवास्ता गर्ने जोखिम हुन्छ।

सैन्यीकरणमा आधारित सुरक्षा र गलत प्राथमिकताको मूल्य

विश्वव्यापी खर्चको प्रवृत्तिले चुनौतीको आकार देखाउँछ। स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानका अनुसार सन् २०२५ मा विश्वको सैन्य खर्च २८ खर्ब ८७ अर्ब अमेरिकी डलर पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा २.९ प्रतिशत बढी हो।

सैन्य बजेटलाई स्वास्थ्य वा जलवायु कार्यक्रमका लागि सीधै स्थानान्तरण गर्न सकिँदैन। राज्यहरूका दायित्व फरक हुन्छन् र सबै बजेट एकअर्काको विकल्प बन्न सक्दैनन्। तथापि, सैन्य खर्चको विशाल आकार र त्यसको निरन्तर वृद्धिले प्राथमिकता र अवसर लागतबारे वैध प्रश्न उठाउँछन्।

जलवायु उत्थानशील अस्पताल, भरपर्दो पानी प्रणाली, आपत्कालीन प्रतिकार्य सेवा र समुदायमा आधारित अनुकूलनका लागि निरन्तर लगानी आवश्यक छ। अत्यावश्यक सार्वजनिक सेवामा पर्याप्त बजेट नहुँदा पनि सैन्य विस्तारमा ठूलो स्रोत खर्च भइरह्यो भने त्यस असन्तुलनले मानव कल्याणमा असर पार्छ।

सैन्यीकरणमा आधारित सुरक्षाले अत्यधिक गर्मी, बाली नष्ट हुने अवस्था, दूषित पानी वा क्षमताभन्दा बढी भार परेका स्वास्थ्य प्रणालीको प्रत्यक्ष समाधान दिँदैन। द्वन्द्व र वातावरणीय तनाव एकै ठाउँमा देखिँदा समुदायले विस्थापन, पूर्वाधारको क्षति, स्वास्थ्य सेवामा पहुँच घट्ने अवस्था र लामो समयसम्म चल्ने मानवीय संकट सामना गर्नुपर्ने हुन सक्छ।

सुरक्षालाई सैन्य शक्तिका आधारमा मात्र परिभाषित गर्न सकिँदैन। मानिसलाई सुरक्षित र सम्मानपूर्वक जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न लगानी गर्नु पनि सुरक्षाको अभिन्न पक्ष हो।

आणविक हतियार : अस्तित्वमाथिको गम्भीर खतरा

आणविक हतियारले यस विरोधाभासको सबैभन्दा विनाशकारी पक्ष प्रस्तुत गर्छन्। तिनको प्रयोगले ठूलो सङ्ख्यामा मानिसको ज्यान जान सक्छ, गम्भीर जलन र विकिरणजन्य चोटपटक लाग्न सक्छ, चिकित्सा पूर्वाधार ध्वस्त हुन सक्छ र मानव स्वास्थ्य तथा वातावरणमा दीर्घकालीन क्षति पुग्न सक्छ। ठूलो स्तरको आणविक युद्धले खाद्य उत्पादनमा अवरोध पुर्‍याउन सक्छ र प्रत्यक्ष रूपमा संलग्न देशभन्दा धेरै टाढाका जनसङ्ख्यालाई समेत खतरामा पार्न सक्छ।

जलवायु परिवर्तनले स्वतः आणविक द्वन्द्व निम्त्याउँछ भन्ने होइन। तथापि, वातावरणीय दबाब, स्रोतसाधनको असुरक्षा र भूराजनीतिक तनाव विद्यमान प्रतिस्पर्धासँग अन्तरक्रिया गर्न सक्छन्। संकटको अवस्थामा यी एकअर्कासँग जोडिएका दबाबले निर्णय प्रक्रियालाई जटिल बनाउन र गलत आकलनका परिणामलाई अझ गम्भीर बनाउन सक्छन्।

आणविक विस्फोटपछि स्वास्थ्य प्रणालीले प्रभावकारी रूपमा प्रतिकार्य गर्न सक्ने अवस्था रहँदैन। अस्पताल, स्वास्थ्यकर्मी, यातायात सञ्जाल, विद्युत् आपूर्ति र सञ्चार प्रणाली आफैँ क्षतिग्रस्त हुन सक्छन्। जलवायु परिवर्तनका कारण पहिलेदेखि नै विद्यमान जोखिमले यस्तो विनाशकारी आपत्काललाई व्यवस्थापन गर्न अझ कठिन बनाउनेछ।

आणविक हतियार रणनीतिक साधन मात्र होइनन्। ती जनस्वास्थ्य, मानवीय संरक्षण र मानव समुदायको भविष्यका लागि गम्भीर खतरा हुन्।

कोप–३१ ले आणविक जोखिमबारे किन छलफल गर्नुपर्छ ?

कोप–३१ आणविक निःशस्त्रीकरणसम्बन्धी सम्मेलन होइन र यसको वार्ता गर्ने अधिकारक्षेत्रलाई मानव सुरक्षाको व्यापक कार्यसूचीसँग एउटै ठान्नु हुँदैन। तथापि, जलवायु जोखिम, जनस्वास्थ्य, द्वन्द्व र आणविक जोखिमबीचको अन्तरसम्बन्धबारे अध्ययन गर्ने महत्त्वपूर्ण अवसर यो सम्मेलनले प्रदान गर्छ।

यस दृष्टिकोणलाई चारवटा आधारले समर्थन गर्छन् :

१. जलवायुजन्य दबाबले अस्थिरता बढाउन सक्छ, जसले द्वन्द्व रोकथामलाई झन् महत्त्वपूर्ण बनाउँछ।

२. सैन्य र आणविक खर्चले जलवायु अनुकूलन तथा जनस्वास्थ्यका लागि उपलब्ध स्रोतसाधनबारे प्रश्न उठाउँछ।

३. आणविक हतियारको प्रयोगले विनाशकारी मानवीय परिणाम निम्त्याउनेछ र जलवायु परिवर्तनको प्रभावबाट पहिलेदेखि नै दबाबमा रहेका प्रणालीलाई क्षमताभन्दा बढी भार पर्नेछ।

४. मानव सुरक्षाका लागि अन्तरसम्बन्धित खतरालाई अलग-अलग रूपमा होइन, एकीकृत रूपमा सम्बोधन गर्नुपर्छ।

निःशस्त्रीकरण र मानव जीवनको संरक्षण

कोप–३१ मा आणविक जोखिमबारे छलफल गर्नुपर्ने तर्क दशकौँदेखिको अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र मानवीय अभियानमा आधारित छ। आणविक हतियार अप्रसार सन्धि (एनपीटी), व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि (सीटीबीटी) र आणविक हतियार निषेध सन्धि प्रत्येकले विश्वव्यापी मान्यता र दायित्व निर्माणमा योगदान पुर्‍याएका छन्।

यी सन्धिको महत्त्व आणविक खतरा पूर्ण रूपमा समाधान गरिसकेकोमा होइन, बरु कानुनी मापदण्ड र मानवीय सिद्धान्तलाई निरन्तरता दिएकोमा निहित छ।

मानवीय निःशस्त्रीकरण अभियानले लामो समयदेखि हतियारको मूल्याङ्कन नागरिक, स्वास्थ्य, मर्यादा र भावी पुस्तामा पर्ने असरका आधारमा गर्नुपर्ने तर्क गर्दै आएको छ।

जलवायु विघटनले यस तर्कलाई थप बलियो बनाउँछ। मानव जीवनको संरक्षण गर्न वातावरणीय खतरासँग अनुकूलन गर्नुका साथै विनाशकारी हिंसाको जोखिम पनि घटाउनुपर्छ।

कोप–३१ का लागि मानव सुरक्षासम्बन्धी कार्यसूची

कोप–३१ ले मानिसलाई जलवायु नीतिको केन्द्रमा राख्ने व्यावहारिक कार्यसूची अघि बढाउनुपर्छ :

स्वास्थ्यलाई केन्द्रमा राखेर जलवायु अनुकूलन सुदृढ गर्ने।

अत्यधिक सैन्य खर्चको अवसर लागतबारे छलफल गर्ने।

आणविक जोखिम न्यूनीकरण र निःशस्त्रीकरणतर्फको प्रगतिलाई समर्थन गर्ने।

एकअर्कासँग जोडिएका संकट सामना गरिरहेका समुदायको संरक्षण गर्ने।

पूर्वचेतावनी र आपत्कालीन प्रतिकार्य प्रणाली सुधार गर्ने।

शान्ति निर्माणलाई मानव सुरक्षाको अङ्गका रूपमा मान्यता दिने।

कृत्रिम बुद्धिमत्ताको जिम्मेवार प्रयोग

कृत्रिम बुद्धिमत्ता (एआई) को जिम्मेवार प्रयोगले यस कार्यसूचीलाई अघि बढाउन सहयोग गर्न सक्छ। एआई प्रणालीले जलवायु संवेदनशील रोगको निगरानी गर्न, पूर्वचेतावनी सञ्जाल सुदृढ गर्न, जोखिम विश्लेषण सुधार गर्न र आपत्कालीन प्रतिकार्य योजनामा सहयोग गर्न सक्छन्। तिनले स्वास्थ्य सेवामा रहेका कमी पहिचान गर्न र वातावरणीय तथा सामाजिक दबाब एकैसाथ सामना गरिरहेका समुदायलाई उजागर गर्न पनि मद्दत गर्न सक्छन्।

जलवायु तथा स्वास्थ्य योजनामा एआईको जिम्मेवार प्रयोग समावेश गर्दा सरकारले समयमै कदम चाल्न, जोखिममा रहेका जनसङ्ख्याको संरक्षण गर्न र समन्वय सुधार गर्न सक्छ।

तर एआईले राजनीतिक प्रतिबद्धता, सार्वजनिक लगानी वा शान्ति र निःशस्त्रीकरणसम्बन्धी निर्णयलाई मार्गदर्शन गर्ने मानवीय मूल्यको स्थान लिन सक्दैन। प्रविधिले सहयोग गर्न सक्छ, तर जीवन, मर्यादा र समुदायको भविष्यको संरक्षणका लागि मानवीय जिम्मेवारी अपरिहार्य रहन्छ।

निष्कर्ष

जलवायु संकटलाई तापक्रम वृद्धिको डिग्रीमा मात्र मापन गरिँदैन; यसलाई गुमेका जीवन, बढेका रोग र अत्यावश्यक सेवाबाट वञ्चित समुदायका आधारमा पनि मापन गरिन्छ। आणविक जोखिमले यस असुरक्षामा अर्को आयाम थप्छ। मानिस, उसको स्वास्थ्य, मर्यादा र भविष्यको संरक्षणमा केन्द्रित भएर सुरक्षाको साँघुरो परिभाषाभन्दा अघि बढ्ने अवसर कोप–३१ ले प्रदान गर्छ।

(डा. गसान शाहरुर अरब मानव सुरक्षा सञ्जालका संयोजक हुनुहुन्छ। उहाँ चिकित्सक, प्रचुर लेखन गर्ने लेखक तथा मानव अधिकारका पक्षधर हुनुहुन्छ। उहाँको विशेषज्ञता स्वास्थ्य, अपाङ्गता, निःशस्त्रीकरण र मानव सुरक्षाका क्षेत्रमा छ। उहाँले शान्ति, निःशस्त्रीकरण र अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि सञ्चालित विश्वव्यापी अभियानमा योगदान पुर्‍याउनुभएको छ। – काउन्टरकरेन्ट्स)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.