लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा जारी गर्न निर्देशन- सम्पत्ति छानबिनको काम अनुशासन आयोगले गर्ने
भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक उसको नक्सामा राखेपछि तातेको नेपाल अहिले सेलाएको छ । राजनीतिक दलदेखि सर्वसाधराणसम्मले यो विषय बिर्सदै गएको अनुभूति भैरहेका बेला सत्तारुढ नेकपाको केन्द्रीय समितिले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।
आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा उठेको जवाफ दिने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गर्न निर्देशन दिइसकेको बताउनुभएको हो । उहाँले अव छिट्टै सरकारले नयाँ नक्सा जारी गर्न लागेको समेत जानकारी दिनुभयो । भूमिसुधारमन्त्री पद्मा अर्यालले नक्सा सम्बन्धी काम गरिरहेको रिपोर्टिङ गर्नुभएको र अब चाँडै नै नक्सा सार्वजनिक हुने उहाँको भनाई छ ।
अध्यक्ष दाहालले मिचिएको भूमि समेटिएको नक्सा जारी गर्दा भारतसँग वार्ता गर्न सहज हुने भएकाले सरकारले अतिक्रमित भूमि समावेश गरेर नक्सा जारी गर्नेलागेको बैठकमा जानकारी गराएको केन्द्रीय सदस्य रामकुमारी झांक्रीले जानकारी दिनुभयो ।
नेताहरुको सम्पत्ति छानविन गर्ने जिम्मा अनुशासन आयोगलाई
यसै गरी नेकपाले नेताहरुको सम्पत्तिको जिम्मा अनुशासन आयोगलाई दिने भएको छ । केन्द्रीय कमिटी बैठकमा नेताहरुले सम्पत्ति छानविन आयोग गठनको माग गरेका थिए । बैठकमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगले नै सम्पत्ति छानविन तथा अनुशासन पालना गराउने बताउनुभएको हो ।
सम्पत्ति छानविनको काम सबैभन्दा पहिले सचिवालय सदस्यहरुबाटै गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव रहेको केन्द्रीय सदस्य ठाकुर गैरेले बताउनुभयो ।