नेपाल साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

ढाकामा भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । नेपालका लागि अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरे ।
भारतका लागि अपूर्णा नार्जारीले सान्त्वना गोल गरिन् । खेलको २१औँ मिनेटमा भारतकी अपूर्णाले गोल गर्दै आफ्नो टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर खेलको दोस्रो हाफमा भने नेपालले तीन गोल गर्यो ।
खेलको ४८ औँ मिनेटमा नेपालका लागि चन्दले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याइन् । खेलको ६९औँ मिनेटमा कप्तान राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याइन् ।
खेलको ८९औँ मिनेटमा नेपालकी कार्कीले तेस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाइन् ।प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान सहभागी छन् ।
प्रतिक्रिया राख्नुहोस्