नेपाल ट्रष्टको श्वेतपत्र सेक्युरिटी प्रेस भ्रष्टाचारलाई मोड्ने प्रयास
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पार्नुभएको छ । उहाँले आफ्नो नाम जोडेर श्वेतपत्र जारी भएकोमा आपत्ति जनाउँदै यो काम सेक्युरिटी प्रेस खरीदमा भएको कमिशनको खेल ढाकछोप गर्ने प्रपञ्च मात्र भएको आरोप समेत लगाउनुभएको छ ।
नेपाल ट्रष्टको जग्गा भाडा सम्बन्धी श्वेतपत्रमा आफ्नो नाम मुछिएपछि सभापति देउवाले एक विज्ञप्तिमार्फत आफ्नो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा आफ्नो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति गम्भीर असहमति प्रकट गर्नुभएको छ । सभापति देउवाले नेपाल ट्रष्ट सम्पत्ति व्यवस्थापनसम्बन्धी यही फागुन १३ गते सार्वजनिक गरिएको विवरणले भ्रम सिर्जना गरेको भन्दै सोबारे स्पष्ट पार्नुभएको छ ।
“विसं २०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको थियो । अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले गलत छ”, विज्ञप्तिमा उल्लेख छ ।
यो प्रकरणलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्टअन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा भएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा लिएको सभापति देउवाले आरोप लगाउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्