पशुपतिमा लकडाउन- २५ जनाभन्दा बढी मलामी नआउन अनुरोध, आरती बन्द
काठमाडौंमा दैनिक विहानदेखि रातिसम्म अत्यधिक भीड हुने स्थानमा पर्दछ पशुपतिनाथ क्षेत्र । धार्मिक कार्यदेखि मृतकको अन्त्येष्टिसम्म गर्न दिनरातै भीडभाड रहने पशुपतिमा अब मलामी पनि २५ जनाभन्दा बढी नआउन अनुरोध गरिएको छ भने शनिबारदेखि पशुपतिको आरती पनि बन्द हुने भएको छ ।
सरकारले एकपटकमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो । कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार यसको लागि घाटामा सूचना दिइसकिएको छ र सामूहिक भजनर्कीतन पनि रोकिएको बताउनुभयो ।
उहाँका अनुसार नियमित नित्य पूजा नियमित चलिरहन्छ, तर बाहिरको पशुपति आरती भने शनिबारदेखि बन्द हुनेछ । विशेष पुजा गर्नेहरु पनि विस्तारै घट्दैछन्, त्यो पनि केही दिनमा स्वतः बन्द हुने अवस्थामा पुगेको छ ।
कोषका कार्यकारी निर्देशक डा घनाश्याम खतिवडाका अनुसार मन्दिर क्षेत्रभित्र प्रवेश गर्ने यात्रुलाई हात धोएर मात्रै जाने व्यवस्था गरिएको छ भने पूजाअर्चनामा पनि विशेष सतर्कता बढाइएको छ । त्यसगरी घाटा र विद्युतीय शवदाह गृहको सरसफाइलाई पनि ध्यान पुर्याइएको छ ।
प्रतिक्रिया राख्नुहोस्